बाईपास सडकले चरिकोटको पर्यटनलाई धक्का
रमेश खतिवडा
जिल्लाको एउटा बाईपास सडकमा गुड्ने यातायातहरुलाई व्यवस्थापन गर्न नसक्दा सदरमुकाम चरिकोटको पर्यटन व्यवसायमा धक्का पुगेको छ ।
प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोक जाने पर्यटकहरुले छोटो मार्ग रोज्नका लागी मकैबारी–देउराली बाईपास सडक प्रयोग गर्दा त्यसको असर सदरमुकाम चरिकोटको पर्यटनमा देखिएको छ ।
घुम्न आउने पर्यटकहरुले चरिकोट बजार नै देख्न पाउदैनन् । काठमाण्डौ तर्फबट चरिकोट आउदा ७ किलोमिटर वरैबाट मकैबारी–देउराली सडक शुरु हुन्छ । उक्त सडकबाट कालिञ्चोक छोटो पर्छ । ‘सदरमुकाम चरिकोटबाट पनि सडक त छ, तर पर्यटकहरु उतै उतैबाट कालिञ्चोक जान्छन, उतै बाट फर्किन्छन’ चरिकोटका होटल व्यवसायी देवकृष्ण थापाले भने – ‘त्यसको असर चरिकोटको पर्यटनमा देखिएको छ’ । त्यसरी आउने पर्यटकले चरिकोटको मुहार नै देख्न नपाएको उनले बताए ।
कालिञ्चोक आउने पर्यटकहरु चरिकोटमा बास नबस्दा यहाँका होटलहरु सुनसान हुन थालेको उनले बताए । नगरपालिकाले यो सडकलाई एकतर्फी बनाउन नसक्दा समस्या भएको स्थानीय बताउछन् । ‘यो नगरपालिका आफैंले एकतर्फी बनाएर चरिकोट हुदै फर्किने व्यवस्था गर्नुपर्ने हो,’ थापा भन्छन – ‘तर नगरले यसमा चासो राखेको पाईदैन’ ।
भीमेश्वर नगरपालिकाका नगर प्रम्ुख ईश्वरनारायण मानन्धरले चरिकोट–देउराली सडक निर्माण भईरहेको र उक्त सडकको निर्माण कार्य सकिएपछि एकतर्फी बनाउने बारे निर्णय लिने बताए । ‘त्यो सडकले चरिकोटमा पर्यटनमा असर गरेको छ भन्ने कुरामा नगरपालिका जानकार छ’ उनले भने – ‘अहिले चरिकोट बाट कालिञ्चोक जाने सडक पनि कालोपत्रे चलिरहेको छ, यो काम सकिए लगतै यहाँको सडक राम्रो हुन्छ अनि त्यस पछि एकतर्फी बताउछौं’ ।
वागमती प्रदेश सरकारले २०७६ सालमा मकैबारी देउराली सडकको कालोपत्रे सम्पन्न गरेको थियो ।
Leave a Reply