दोलखामा कांग्रेस अधिवेशनका प्रतिनिधि १५ सय ९ जना, सबै भन्दा धेरै भीमेश्वर र कालिञ्चाेकका
कांग्रेसले १४ औं महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि अब चाही अधिवेशन हुने आशामा दोलखा कांग्रेसमा समेत चुनावी सरगर्मी बढेको छ ।
जिल्ला पार्टीको नेतृत्व कसले सम्हाल्ला भनेर सर्वत्र चासो छ । केन्द्रले सार्वजनिक गरेको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार देशैभर एकै दिन भाद्र १८ गते वडा अधिवेशन हुनेछ । वडाबाटै चुनिएर आउने क्षेत्रीय प्रतिनिधिले गाउँ/नगरपालिका सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति र केन्द्रीय सभापतिमा छान्न जाने महाधिवेशन प्रतिनिधि जस्ता महत्वपूर्ण पद र कार्य समिति चुन्ने कारण वडा अधिवेशनलाई केन्द्रै देखी महत्वका साथ हेरिन्छ ।
बिधान अनुसार हरेक वडामा अधिवेशनले वडा कार्य समिति चयन गर्छ । वडा सभापति पदेन क्षेत्रीय प्रतिनिधि हुन्छन् । उक्त वडामा क्रियाशिल सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधिहरु चुनिन्छन् ।
दोलखा जिल्लाका ७४ ओटा बडाबाट १५ सय ९ जना क्षेत्रीय प्रतिनिधिहरु चुनिएर आउदैछन् । नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यालयबाट बोलीचाली डटकम लाई प्राप्त वडागत सक्रिय सदस्यको विवरण अनुसार कांग्रेसको बिधान बमोजिम बोलीचाली टिमले दोलखा जिल्लाका वडाहरुबाट प्रतिनिधित्व गरेर आउने क्षेत्रीय प्रतिनिधिको संख्या उतारेको छ ।
बिधान अनुसार हरेक वडामा न्युनत्तम ४५ जना सक्रिय सदस्य हुनुपर्छ । ४५ देखी २ सय ५० जना सम्म सक्रिय सदस्य भएको वडामा ३ महिला सहित ९ जना खुल्ला तर्फबाट र ६ जना समानुपातिक आधारमा क्षेत्रीय प्रतिनिधि चुनिएर आउछन । वडा सभापति अनिवार्य पदेन क्षेत्रीय प्रतिनिधि हुन्छ । यसरी २ सय ५० सम्म सक्रिय सदस्य रहेका ५० ओटा वडाबाट १६ जना प्रतिनिधि चुनिएर आउछन् ।
यस्तै सोही आधारमा ३ सय ५० देखी ४ सय ५० सम्म सक्रिय सदस्य रहेका २० वटा वडाबाट २६ जनाका दरले प्रतिनिधि चुनिएर आउछन् ।
भीमेश्वर नगरपालिकाका तिन ओटा वडाबाट ३६ जनाका दरले प्रतिनिधि चुनिएर आउछन भने सबै भन्दा बढी प्रतिनिधि कालिञ्चोक ९, सुन्द्रावती बाट ५६ जना चुनिएर आउछन् ।
यी नेता हुनेछन् स्वतः प्रतिनिधि
पार्टीको निर्वाचन नियमावली अनुसार संघीय सांसद, प्रदेश सांसद, अघिल्लो निर्वाचनका प्रत्यक्ष वा समानुपातिक पदमा चुनाव लडेका प्रत्यासीहरु, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु स्वत क्षेत्रीय प्रतिनिधि हुने व्यबस्था छ ।
दोलखामा संघीय सांसद जिपछिरिङ लामा, जिल्ला सभापति रुद्र खड्का, क्षेत्रीय सभापतिहरु छवि लामा र जयराम श्रेष्ठ, अघिल्लो निर्वाचनमा प्रदेश तर्फ प्रत्याशी बर्मा लामा, केशबराज चौलागाई र समानुपातिक उम्मेद्धार विनिता अधिकारी स्वत क्षेत्रीय प्रतिनिधि हुनेछन । सांसद लामा जिरी नगरपालिका १ श्यामा, जिल्ला सभापति खड्का गौरीशंकर गाउँपालिका ४ झ्याकु, क्षेत्रीय सभापति लामा वैत्येश्वर २ गैरीमुदी, क्षेत्रीय सभापति श्रेष्ठ भीमेश्वर नगरपालिका ३ चरिकोट, गत निर्वाचनमा प्रदेश सांसदका प्रत्याशी लामा मेलुङ गाउँपालिका डाँडाखर्क, चौलागाई भीमेश्वर नगरपालिका ४ जिलु र अधिकारी तामाकोसी गाउँपालिका ३ जफेबाट प्रतिनिधित्व गर्छन् ।
वडाबाट चुनिएर आएका क्षेत्रीय प्रतिनिधिले गाउँपालिका अधिवेशनमा सभापति चुन्छन् । यस अघि उक्त पद सक्रिय सदस्यले चुन्ने व्यवस्था रहेपनि केन्द्रीय समितिले त्यसलाई हटाएर क्षेत्रीय प्रतिनिधिले चुन्ने व्यवस्था गरेको हो । गाउँपालिका अधिवेशनबाट एक महिला सहित थप दुई जना क्षेत्रीय प्रतिनिधि चुनिएर आउछन् ।
क्षेत्रीय प्रतिनिधिहरुले दोलखामा प्रदेश सभा क्षेत्रीय कार्य समिति, क्षेत्रीय महाधिवेशन प्रतिनिधि साथै जिल्ला अधिवेशनबाट जिल्ला सभापति सहितको कार्य समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चुन्न्नेछन् ।
दोलखामा वडाबाट प्रतिनिधित्व हुने क्षेत्रीय प्रतिनिधिको विवरण
स्रोत : कांग्रेसको जिल्ला कार्यालय
Leave a Reply