निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

- bolichali
२ आश्विन २०७९, आईतवार
शनिबारबाट कार्यकाल सकिएको प्रतिनिधि सभाकी एमाले सांसद रेखा झाको ललितपुर स्थित फ्ल्याटबाट प्रहरीले ठगी आरोपमा मिटरब्याजी तेजबिक्रम कार्कीलाई पक्राउ गरेको छ ।
शनिबार मात्र अन्तिम बैठक बसेर कार्यकाल सकिएको भनिएको प्रतिनिधि सभाकी एमाले सांसद झाको ललतिपुरको ईमाडोल स्थित निवासबाट प्रहरीले मिटरब्याजमा मुछिएका कार्कीलाई पक्राउ गरेको हो । झा रौतहटबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फकी एमाले सांसद हुन् ।
दोलखाका एक जना निर्माण व्यवसायीको उजुरी पछि प्रहरीले कार्कीलाई ललितपुर प्रहरीको सहयोगमा ईमाडोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रहरीका अधिकारीहरुका अनुसार मेलुङ ७ का निर्माण व्यवसायी प्रकाश कार्कीले आफु माथि चर्को मिटरब्याज असुलेर तेजबिक्रमले ठगी गरेको उजुरीका आधारमा उनलाई निवर्तमान सांसद चौधरीको निवासबाट पक्राउ गरिएको हो ।
निर्माण व्यवसायी कार्कीलाई १ करोड रुपैंया दिएर १२ करोड असुलउपर गरेको आरोप तेजबिक्रम माथि छ । पटक पटक गरेर रकम दिएपनि तेजबिक्रमले रौतहटमा रहेको आफ्नो साईटमा सबै निर्माण सामग्री, उपकरण, मेसिन औजार कब्जा गरेको र आफु माथि पटक पटक स्थानीय गुण्डा लगाएर अपहरण गरेको पिडितले बताएका छन् । दोलखाको मेलुङमा पुख्र्यौली घर भएका तेजबिक्रम रौतहटको चन्द्रनिगाहापुर बस्दै आएका थिए । उनी मिटरब्याजमा पैसा लगाएर ठगी गर्दै आएका थिए । चन्द्रनिगाहापुरमा उनी विरुद्ध आफ्नै दाजु सहित थुप्रै ठगीको अभियोग रहेको स्थानीयले बताएका छन् । उनले सांसद चौधरी सहित धेरै स्थानीय र प्रभावशाली पूर्व प्रहरी अधिकारीहरुको पैसा चलाएर मिटरब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
प्रहरीले तेजक्रिमलाई एमालेकी निवर्तमान सांसद झाको फ्ल्याटबाट पक्राउ गरेर दोलखा चलान गरेयता सांसद झाले उनलाई छाडेकी छैनन् । आईतबार साँझ सम्म उनी जिल्ला प्रहरी कार्यालय दोलखामा छिन् । शुरुमा तेजबिक्रम संग आफ्नो कारोबार मात्र रहेको बताएकी उनले पछि तेजक्रिम आफ्नो स्वकीय सचिव रहेको र उनी निर्दोष रहेकाले उनलाई सहयोग गर्न दोलखा आएको सुनाईन् । ‘उ मेरो स्वकीय हो, प्रहरीले झुठा लाञ्छाना लगाएर पक्राउ गरेपछि समन्वय गर्न उसको श्रीमती र परिवारलाई खबर गरेर दोलखा आएको हुँ’ उनले भनिन्– ‘निर्दोष मान्छेलाई ललितपुरबाट उठाएर दोलखा ल्यायो प्रहरीले गलत ग¥यो’ ।
जिल्लाका प्रहरी प्रमुख गंगा प्रसाद पौडेलले पिडितको जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको सुनाए । उनलाई मुलुकी अपराध संहिताको ठगी/आपराधिक लाभ सम्बन्धी मुद्धामा कार्बाही गरिने उनले बताए ।
अरु पनि तानिदै
दोलखा प्रहरीले चर्को मिटरब्याज असुलेर ठगी गर्दै आएका मिटरब्याजमा संलग्नहरुको जिल्लाका अन्यको खोजी शुरु गरेको छ ।
तेजबिक्रमका पछाडी दोलखा जिल्लाका केहीको संलग्नता हुन सक्ने प्रहरी आशंका छ । केही दिन अघि जिल्लाका केही प्रभावशाली व्यवसायी र मानिसहरु उपर जिल्ला प्रशासनमा मुद्धा परेको थियो । सदरमुकाम चरिकोटका एक जना प्रतिष्ठीत व्यवसायीका छोरा सहित प्रभावशाली व्यक्तीहरु विरुद्ध परेको चर्को मिटर ब्याज र ठगी सम्बन्धी उजुरी बिभिन्न दबाबमा जिल्ला प्रशासनबाट मिलापत्र गराएर पठाईएको जिल्ला प्रशासन स्रोतले बताएको छ ।
प्रहरीले पिडितहरुको खोजी कार्य जारी राखेको जनाएको छ । पिडितहरुलाई सम्पर्कम आउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

















Leave a Reply