दोलखा एमालेमा अध्यक्ष र पदाधिकारी हारेकालाई जिल्ला कमिटिमा निषेध

- bolichali
२३ माघ २०७८, आईतवार
दोलखा एमालेको एक महिना अघि सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पहिलो पूर्ण बैठकले जिम्मेवारी र मनोनयन टुंग्याएको छ ।
शुक्रबार र शनिबार सदरमुकाम चरिकोटमा चलेको पहिलो जिल्ला कमिटि बैठकले मनोनयन र जिम्मेवारी बाँडफाड टुंग्याएको हो ।
बैठक मार्फत बाँडफाड गरिएको जिम्मेवारी भित्र गत जिल्ला अधिवेशनमा अध्यक्ष सहित पदाधिकारीमा प्रतिष्पर्धा गरेका नाम चलेका जिल्ला नेताहरु अटाउन सकेनन् । अध्यक्षमा विजयी नरबहादुर श्रेष्ठ संग निर्वाचन लडेका निकटतम प्रत्यासी भरत दुलाल सहितका नेताले जिल्ला कमिटि सदस्य सहित कुनै पनि पदमा जिम्मेवारी पाएनन् ।
अध्यक्ष वा प्रमुख पदमा निकटतम प्रत्यासी उम्मेद्धारको मतको सम्मान गर्ने र उसलाई स्थान दिने परम्परा हरेक दल र संघ संस्थामा हुन थालेपनि दोलखा एमालेले दुलाललाई जिम्मेवारीबाट बिमुख बनाएको हो । १६ जना जिल्ला कमिटि सदस्य मनोनयन गर्दा गत पुस तेश्रो साता सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष सहितका प्रमुख पदाधिकारीमा लडेका कुनै पनि नेता मनोनयनमा अटाएनन् ।
जिल्ला अध्यक्षका प्रत्याशी दुलालले एकलौटी ढंगले पार्टी चलाउने प्रपञ्च भएको प्रतिक्रिया दिएका छन् । ‘निकटतम प्रत्यशीको मतको सम्मान गर्ने र सामुहिक भावनाबाट पार्टी चलाउनुपर्नेमा उहाँहरु एकलौटी रुपमा अघि बढ्न खोज्नुभयो’ दुलालले भने – ‘यो पार्टीको आन्तरिक जिवनका निम्ती राम्रो हैन’ । अध्यक्षमा श्रेष्ठ संग दुलालले मात्र प्रतिष्पर्धा गरेका थिए । दुलालले सामाजिक सञ्जालमा लेखेर असन्तोष जनाएका छन् । यस्तै उपाध्यक्षमा प्रतिष्पर्धा गरेका रोचकुमारी चौलागाई, कृष्णबहादुर बस्नेत, सचिवमा प्रतिष्पर्धा गरेका होम पाठक सहितका नेता जिल्ला कमिटिमा अटाएनन् ।
आईतबार जिल्ला पार्टीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष श्रेष्ठले कुनै पनि नेता प्रति अन्याय नगरेको भन्दै मनोनयन समानुपातिक र सबैको प्रतिनिधित्व रहेको दलिल पेश गरे । ‘जिल्ला अधिवेशनमा चुनावकै दिन निर्वाचन समितिले उहाँहरु (निकटतम प्रत्याशी दुलाल सहितका प्रत्याशी)लाई पदाधिकारी संगै जिल्ला कमिटि सदस्यमा समेत उम्मेद्धारी दिनुस भनेर पटक पटक आग्रह ग¥यो’ उनले भने – ‘तर उहाँहरुले सुनेको नसुन्यै गर्नु भयो, जिल्ला कमिटिको बिधानले १० जना मात्र मनोनित गर्न पाईन्छ, तर उहाँ पदाधिकारीमा चुनाव लडेकाहरु नै १२ जना हुनुहुन्छ त, कसरी सबैलाई समेट्नु, अहिले आएर नचाहिने आरोप लगाउन पाईदैन, यो जिल्ला स्तरमा सबैको भावना समेटिने गरी सबै शिर्ष नेतृत्व बसेर टुंग्याईएको बिषय हो’ ।
उनले जिल्ला कमिटि बैठकबाट १६ जना मनोनित मध्ये ६ जना एकता प्रक्रियाबाट आएकाहरुलाई समेटेको सुनाए । उनले मनोनित १६ जना सबै क्षेत्र, भेग, भुगोल समेटेको दाबी गरे । श्रेष्ठले छुटेका नेताहरुलाई ज्येष्ठ नागरिक कम्युनिष्ट मञ्च र सल्लाहकार समिति साथै प्रदेश कमिटि र माथिल्ला बिभागहरुमा समेट्ने दाबी गरे ।
पत्रकार सम्मेलनमै उपस्थित पोलिटब्युरो सदस्य एवं जिल्ला सांसद पार्वत गुरुङले भने असल मनशायका साथ बनाईएको मापदण्ड भित्र दुलाल सहितका नेता समेटिन नसकेको भन्दै बाहिर जथाभावी बोलेर वा लेखेर हिडे नराम्रो हुने भन्दै सांकेतिक पारामा धम्की दिन खोजे । ‘१५ बर्ष नेतृत्व गरेका माधव नेपालहरु त कांग्रेसलाई सत्ता सुम्पीने गरी एमाले छाडेर हिडे, यहाँ सानो कुरामा चित्त नबुझ्ने बितिकै लेख्ने वा प्रतिक्रिया जनाई हाल्ने प्रवृत्तीले दोलखा एमालेलाई केही फरक पार्ने छैन’ उनले भने । पत्रकार सम्मेलनमा दुलाल सहितका नेताको असन्तुष्टी बारे प्रश्न उठाएका पत्रकारलाई गुरुङले एमाले भित्र विवाद वा समस्या छ भनेर देखाउने चेष्टा नगर्न चेतावनी समेत दिएका थिए ।
गत जिल्ला अधिवेशनमा पदाधिकारी पदमा प्रत्याशी ६९ जना अझै जिल्ला कमिटि बाहिरै रहेको र सबैलाई समेटेर जिल्ला कमिटिमै ल्याउन सक्ने अवस्था नरहेका कारण यस्तो निर्णय लिनुपरेको जिल्लाका एक शिर्ष नेताले बोलीचाली डटकमलाई बताए ।
जिल्ला कमिटि सदस्यमा मनोनित भएकाहरुमा जिबसराज खड्का, ऋषिकेश उप्रेती, कमलराज खत्री, हेमन्त चौलागाई, धनबहादुर तामाङ, हरि ओली, छिरिङ वाङ्दे शेर्पा, सोम बम्जन, कुमार लगुन, दिपेन्द्र शिवाकोटी, गणेश प्रसाद शिवाकोटी, दुर्गा काफ्ले, हिरण्यबहादुर गुरुङ, निमा सांगे शेर्पा, सन्तोष राउत, दिनेश बस्नेत छन् ।


















Leave a Reply