भीमेश्वरको आँगनमा चम्पुजा पार्क

- bolichali
२५ असार २०७९, शनिबार
ऐतिहासिक दोलखा सहरमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शनमा आउदै हुनुहुन्छ ? यस अघि आईसक्नुभएको छ भने घुम्ने ठाउँ नपाएर दर्शन लगतै राजधानी वा गन्तव्यमा फर्किनुभयो होला हैन ? अब त्यसरी फर्किनुपर्दैन् ।
यो प्राचिन सहरमा भीमेश्वर दर्शन गरे लगतै घुम्ने र रमाउने स्थान नभेटेर फरक्क राजधानी वा आफ्नो गन्तव्यमा फर्कनेहरुका लागी केही घण्टा सुन्दर दृश्यावलोकन सगैँ पार्कमा रमाउने, गुफा हेर्ने र रानीबन घुम्ने गज्जबको पूर्वाधार र रुटको निर्माण भीमेश्वर नगरपालिकाले गरिदिएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका २ मा पर्ने प्रसिद्ध भीमेश्वर मन्दिरको पछाडीबाट करिब २ सय मिटर ढुङगा बिच्छ्याईएको बाटो र सिढिँ ओर्लिएपछि त्रिपुरा सुन्दरी मन्दिर मन्दिर पुगिन्छ । त्रिपुरा सुन्दरीको बायाँपट्टीको सिढि ओर्लेर जंगल भित्र रहेको बणारसी मन्दिर पुगिन्छ भने मन्दिरको दायाँपट्टी त्रिपुरा सुन्दरीको बगैँचा छ । नगरपालिकाले यही बगैँचा र तल्लो क्षेत्रको चउरलाई सुन्दर पार्कमा परिणत गरेको हो । ढुङ्गा बिच्छ्याईएर वरिपरि बगैँचा रोपेर बनाएको पार्क निकै सुन्दर छ । जसको नाम चम्पुजा पार्क जुराईएको छ ।
पार्कमा नगरले ४ ओटा ट्रष्ट, मिटिङ हल, किचेन, र तिन ओटा बाथरुम सगैँ शौचालय समेत बनाएको छ । ‘भक्तजनलाई घुमाउने, हिमाल देखी तामाकोशी नदी र बस्तीहरुको दृश्यावलोकन गराउने र केही समय पार्क नजिकैको रानीबन भित्र हिडाएर फरक र मिठास अनुभुती दिलाउने उद्धेश्यले यसको निर्माण र पूर्वाधार विकासमा लागेका हौँ’ भीमेश्वर नगरपालिकाका ईन्जिनियर सुरेश राउतले भने । उनका अनुसा पार्क र रानीबन क्षेत्रमा नगरले चिटिक्को बिशेष पूर्वाधार बनाउनेछ । ‘यो क्षेत्र यस पटकको रातो किताबमा परिसकेको छ’ उनले भने – ‘क्रमश थप विकास गर्दै लैजानेछौँ’ ।
त्रिपुरा सुन्दरीको दायाँ बाट पार्क प्रवेश गरे लगतै आकर्षक किसिमले बिच्छ्याईएको ढुङगा र दायाँबायाँ फुल रोपेर बगैँचा बनाई राम्रो सजावट गरिएको छ । दायाँबायाँका दुवै डाँडामा पर्यटक बस्नका लागी ट्रष्ट राखिएको छ । डाँडामा रहेको पार्कभरी रेलिङ राखिएको छ । रेलिङबाट तल हेर्दा तामाकोशी नदि सुसाईरहेको देखिन्छ । दोलखा क्षेत्र नं १ को पूर्वी बस्ती र उत्तरका अधिकांश बस्तीहरु देखिने यो पार्कबाट गौरीशंकर हिमाल आँखै अगाडी देखिन्छ । पार्कबाट केही तल ओर्ले पछि एउटा गुफा भेटिन्छ । स्थानियका अनुसार यो गुफा केही समय अघि मात्र पत्ता लागेको हो । ‘भर्खर पत्ता लगाएका हौँ’ स्थानिय बुद्धिबहादुर आचाजुले भने – ‘४०÷५० मिटर सम्म भित्र पसेका छौँ, त्यहाँबाट भित्र पस्न र यसको थप अनुसन्धान गर्न सरकारलाई आग्रह गरिरहेका छौँ’ । स्थानियले यो गुफालाई पाँच पाण्डवहरु गुप्तवास बस्दा बसेको हुनसक्ने भन्दै यसको थप अनुसन्धान माग गरेका छन् । यस्तै गुफा भन्दा तल्लो भागमा रहेका सुन्दर चउर र फाँटमा पर्यटकहरु रमाउन सकिने अचाजुले बताए । यस्तै पार्कलाई बालमैत्री बनाईएको छ । बालबालिकाहरु खेल्ने पिङ, चिप्लेटी जस्ता संरचना पार्कमा तयार गरिउको छ ।
पार्कूको बाँया तर्फ एउटा सुन्दर र बाक्लो जंगल छ । रेलिङको बायाँबाट ढुङगा ओच्छ्याएर जंगल घुम्न निस्कने एउटा बाटो बनाईएको छ । चराहरुको चिरबिर आवाज र शान्त वातावरणमा जंगल घुम्दा छुट्टै आनन्द आउने स्थानिय अगुवा भरतनारायण प्रधानले बताए । करिब १ सय ५० मिटर हिडेपछि जंगल भित्र रहेको बणारशी मन्दिर पुगिन्छ । जहाँ एउटा ठुलो धारा र मन्दिर छ ।, स्थानिय यहाँ पुजा गर्दा र नुहाउदा भारतको बणारशीमा पुगे बराबर हुने विश्वास राख्छन् । जंगल भित्रै नगरपालिकाले पिक्नीक स्पोट बनाउने तयारी समेत गरेको छ । बाणारशीको दर्शन पछि बायाँ तर्फको सिढि चढेर अर्कोबाट फेरी सोही जंगल घुम्दै पुःन पार्कमा आउन सकिन्छ । त्यसरी घुमेर आउनेहरु असिन पसिन हुने हुनाले उनिहरुको नुहाउने सुविधाका लागी नगरपालिकाले पार्क भित्रै बाथरुम बनाईदिएको छ ।
‘दोलखा भीमेश्वर मन्दिर सगैँ अरु मठ मन्दिर र प्राचिन दरबार र बस्तुहरुमा पनि निकै धनी छ’ दोलखा सहरको ऐतिहासिक र सांस्कृतिक बिषयको अध्ययन र संरक्षणमा जुटिरहेका अभियन्ता शान्तकृष्ण श्रेष्ठले भने ‘समग्रमा धार्मिक पर्यटनमा आउनेहरुका लागी दोलखा सहरभित्र धेरै समय घुमाउने र दृश्यावलोकन गराउने उद्धेश्यले पार्क बनाएका हौँ’ । यसले पर्यटकलाई दोलखाको अन्य सम्पदा, डबली, मठ मन्दिरहरु घुम्न समेत प्रेरित गराउने श्रेष्ठले बताए ।


















Leave a Reply