भीमेश्वर नगरको आकर्षक पूर्वाधार – ‘खरिढुंगा गेट’
सुन्दर पर्यटकीय जिल्ला दोलखाको प्रवेशद्धारमा भीमेश्वर नगरपालिका कार्यालयले आकर्षक गेट निर्माण गरेको छ ।
पर्यटकको आकर्षण बढाउन नगरको समेत प्रवेशद्धार रहेको भीमेश्वर नगरपालिका ९ स्थित खरिढुंगामा उक्त गेट निर्माण गरिएको हो । नगरको लगानीमा बनाईएको गेटले नगर सहित सिंगो जिल्लाको पहिचान झल्काएको छ । परम्परागत सजावट दिएर बनाईएको गेटमा पर्यटकहरुले तस्विर खिच्न थालेका छन् । ‘यो गेटले पर्यटक आकर्षण बढाएको छ’ भीमेश्वर नगरपालिका ९, आहलडाँडाका स्थानीय प्रतिक्ष रुम्बाले भनिन– ‘पर्यटकहरु यहाँ ओर्लिएर फोटो खिच्ने, केही क्षण रमाउने गर्न थालेका छन’ । उनका अनुसार गेट अगाडी बसेर पर्यटकहरु टिकटक बनाउने समेत गर्छन । गेटमा दोलखाको परिचय झल्कीने गरी आकर्षक पेण्टीङ गर्ने तयारी नगरपालिकाको छ ।
यस्तै गेट संगै नगरपालिकाले पर्यटक सुचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार पर्यटक सुचना केन्द्र मार्फत भीमेश्वर नगर क्षेत्रका पर्यटकीय स्थलहरुको जानकारी पुस्तिका, ब्रोसर आदी राखेर वितरण गरिनेछ । यस्तै जिल्लाभरका मुख्य पर्यटकीय स्थलहरुको जानकारी सहितको तस्विर र ब्रोसर राख्ने तयारी नगरको छ । ‘पर्यटकलाई प्रवेश गर्ने बितिकै दोलखाको सिंगो जानकारी होस र सबै पर्यटकीय स्थलहरु घुम्ने मौका मिलोस भन्ने उद्धेश्य सुचना केन्द्रको हो’ प्रमुख प्रशसकीय अधिकृत खड्काले भने ।
सुचना केन्द्र संगै कफी सप समेत सञ्चालनमा आएको छ । पर्यटकहरु ओर्लिएर कफी पिउन, सुचना केन्द्रमा पसुन र दोलखाको जानकारी राखुन भन्ने उद्धेश्यले यो सञ्चालनमा आएको हो ।
Leave a Reply