लापिलाङ पहिरोका डेढ सय पिडित परिवारले गाउँ छाडे

- bolichali
३२ श्रावण २०७८, सोमबार
जिल्लाको उत्तरी गाउँ लापिलाङमा बस्ती माथि र तल दुवै तिरबाट चलेको पहिरोले घर तान्न थालेपछि १ सय ५० परिवारले गाउँ छाडेका छन् ।
कालिञ्चोक गाउँपालिका ५ लापिलाङ गाउँँमा रानिबन बन्देथलीबाट झरेको भिषण पहिरोले सुनखानी–साङबा सडक खण्ड आसपासको रानिबन, घट्टे खोला, कातिके, मिजार टोल र नेवार बस्तीका १ सय ५० घर उच्च जोखिममा पारेको हो ।
बस्तीको तलबाट भिषण पहिरोले तानिरहेको स्थानिय थिरबहादुर थामीले सुनाए । ‘४ हजार बढी रोपनी खेत र बारी तान्दा तान्दै भिषण पहिरो घर पछाडी सम्म आईसकेको छ’ उनले भने – ‘घट्टे खोलाको माथिबाट समेत जमिन धाँजा फाट्न थालेको छ’ ।
बस्तीको माथिल्लो र तल्लो दुवै भागबाट पहिरोले तान्न थालेपछि गाउँलेले बस्ती छाडेका छन् । बस्ती छाडेर उनिहरु छिमेकीको शरण, सामुदायिक भवन र बिद्यालयमा पुगेका छन् । ‘दिउँसो घरमा आउँछौं, राती पल्लो बस्तीका छिमेकी र सामुदायिक भवनमा गएर सुत्छौं’ स्थानिय लालकाजी श्रेष्ठले भने ।
बस्ती तलबाट निरन्तर खसिरहेको पहिरोले घट्टे खोलोको तल्लो क्षेत्रका करिब ४ हजार रोपनी खेत र बारीको नामोनिशाना मेटाईदिएको छ । थिरबहादुरको गत साल मात्र ११ लाख खर्चेर किनेको ८ पाथी धानको बिउँ जाने खेत पहिरोले नामोनिशाना मेटाईदिएको छ । ‘खेत बारी सकियो, पहिरोले घर तान्दै छ’ उनले दुखेसो पोखे – ‘घर कुन दिन तान्ने हो ठेगान छैन, अब परिवार कसरी पाल्नु?’ ।
यो पहिरो गाउँमा नयाँ हैन् । अघिल्लो साल समेत यही पहिरोले दुख दिएको थियो । गत बर्ष केही घर पहिरोले पुरेको थियो भने २४ घर बिस्थापित भएका थिए । त्यसबेला समेत राज्यले बस्ती स्थानान्तरण गर्ने र पिडितलाई सहयोग गर्ने आश्वासन दिएको थियो । तर उक्त आश्वासन पुरा भएन् । बर्षात सकिएपछि गाउँले आफ्नै घर फर्किए । स्थानिय धनबहादुर थामीका अनुसार त्यही पहिरो यस पटक भिषण बनिदियो । माथिल्लो र तल्लो क्षेत्र दुवैबाट निरन्तर बस्ती तानिरहेकोृ छ ।
यस पटक समेत दुई साता अघि वागमती प्रदेश सरकारका दुई मन्त्रीले पहिरो क्षेत्र निरिक्षण गरी पिडितहरुलाई प्रति परिवार ४ लाख रुपैंया सहयोग गर्ने आश्वासन दिएर फर्किएका छन् । प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत र आन्तरिक मामला मन्त्री केशव पाण्डेले ४ लाख रुपैंयाका दरले सहयोग पठाउने आश्वासन दिएका छन् ।
कांग्रेसका गाउँपालिका सभापति अर्जुन शिवाकोटीले तत्काल कम्तीमा १ सय परिवारलाई अस्थायी बसोबास सहित स्थानान्तरणको खाँचो रहेको सुनाए । ‘यहाँ पिडितको अवस्था असाध्यै विजोग भईसकेको छ’ उनले भने – ‘अघिल्लो बर्ष देखी पटक पटक आश्वासन मात्र भएकाले पिडितहरुको पुर्नबासका निम्ती सरकार संग आग्रह गरिरहेका छौं’।


















Leave a Reply