प्रतिपक्षसंग हक्की, पार्टी भित्रका हठी

- bolichali
१२ आश्विन २०७८, मंगलवार
२०४८ सालको भदौ महिना । काठमाण्डौको ठमेल स्थित नेता माधवमणी राजभण्डारीको होटल एमएमको हल । जिल्लाका वामपन्थी नेता ताराबहादुर कोईरालालाई कांग्रेसमा प्रवेश गराउने कार्यक्रममा रौनक थियो ।
कार्यक्रमका प्रमुख अतिथि थिए नेता भीमबहादुर तामाङ । त्यसबेलाका जिल्लाका प्राय नेता कार्यकर्ता त्यहाँ थिए । पवटी गाउँका कोईराला कांग्रेस प्रवेश गर्न लागेका कारण दक्षिणको संगठन कायापलट हुनेमा कार्यक्रमका सहभागी दंग थिए ।
कार्यक्रममा कोईरालालाई तामाङले सदस्यता दिलाएर पार्टीमा भित्र्याए । तामाङले त्यस दिनको मन्तव्यमा भनेका थिए – ‘दोलखा कांग्रेसमा चार तारा थियो आज देखी एउटा अर्को पनि तारा थपियो’ ।
त्यस दिन तामाङले भने झैं चार तारामा थपिएका अर्का ताराले कांग्रेसमा झण्डै २५ बर्ष एक छत्र जस्तै राज चलाए ।
…
तत्कालिन पञ्च र प्रशासकहरुको बिद्रोहका कारण जनपक्षिय तर्फबाट जिल्ला पञ्चायत सदस्य जितेका ताराबहादुर कोईरालाको चर्चा २०४३ साल देखी नै चुलिन थालिसकेको थियो ।
२०१५ सालमा जन्मिएका उनले काठमाण्डौमा भानुभक्त स्कुल पढ्दा ५ कक्षामा हड्ताल गर्दा अलिअलि राजनिति बुझ्न थालेका थिए । ८ कक्षा सम्म काठमाण्डौ पढेका उनलाई पिताले २०३२ सालमा जिरी माविमा भर्ना गरिदिए । जिरी पढ्दा अखिलको राजनिति सिकेका उनी एसएलसी दिएपछि ओभरसियर पढ्न २०३५ सालमा फेरी काठमाण्डौ फर्किए । राजधानी पढ्दा पढ्दै नेकपा मालेको ‘भ्याली कोअर्डिनेसन कमिटि’मा जोडिए । २०३६ सालको बिद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका उनी ओभरसियरको पढाई सके पछि जागिरमा जोडिए ।
केही समयको जागिर छाडेर सक्रिय राजनितिमा हाम फालेका कोईराला २०४३ मा ६ नं ईलाकाबाट जिल्ला पञ्चायतको सदस्यमा चुनाव लडे । कोईरालाले जनपक्षिय उम्मेद्धार बनेर चुनाव समेत जिते । जिल्ला पञ्चायत सदस्य बन्दा तत्कालिन पञ्च र प्रशासकहरु संग उनको थुप्रै पटक झगडा परेको किस्साहरु अहिले पनि चर्चामा आईरहन्छ ।
२०४६ सालमा बहुदल आयो । नेकपा मालेमा काम गरेका बामपन्थी पृष्ठभुमीका कोईराला बहुदल पछि कम्युनिष्टमा बिस्तारै निष्क्रीय हुदै गए । कांग्रेस संगको बातचित चल्दै थियो । पूर्व पार्टी सभापतिहरु स्वर्गिय देवी न्यौपाने र उद्धवराज काफ्ले साथै पार्टी सचिव विनोद काफ्लेले चरङगेमा कोईराला संग कुराकानी गरे । तिनै जनाले नेता भीमबहादुर तामाङ संग जोडिदिए । त्यस पछि कांग्रेसमा आउन तयार भए भए कोईराला । कोईराला संगै मिर्गेका नेता बमबहादुर तामाङ लगायतको ठुलो समुह कांग्रेसमा आएको थियो ।
…
कांग्रेस प्रवेश गरेको साल नै पार्टीको आठौं अधिवेशनबाट ताराबहादुर केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भए ।
झापाको कलवलगुडीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनमा भाग लिएर जिल्ला फर्के देखी उनी निरन्तर संगठनमा खटिए । मिर्गे, गैरीमुदी लगायतका गाउँमा थुप्रै कार्यकर्ता भित्र्याए ।
२०५२ सालमा नवौं अधिवेशन भयो । पुराना नेता एवं पूर्व सभापति देवी प्रसाद न्यौपानेलाई हराउदै कांग्रेस प्रवेश गरेको चार बर्षमै पहिलो पटक सभापति बने । २०५७ मा दशौं अधिवेशनमा दोस्रो पटक निर्विरोध सभापति भए । तर यो कार्यकाल उनको पुरा हुन पाएन । त्यस बेलाको क्षेत्रीय अधिवेशनमा प्रोक्सी मत खसेको भन्दै केन्द्रमा मुद्धा प¥यो । केन्द्रले क्षेत्रीय अधिवेशनको सबै प्रक्रिया बदर गरिदियो भने बदर भएको क्षेत्रीय अधिवेशन हुँदै प्रक्रियाबाट जिल्ला समिति बनेको भन्दै केन्द्रले जिल्ला समिति नै भंग गरि माधवमणी राजभण्डारीलाई सभापति तोकिदियो । उनको यो कार्यकाल पुरा हुन पाएन ।
२०७८ सालमा सम्पन्न बाह्रो अधिवेशनमा उनी पूर्व जिविस सभापति एवं हालका पार्टी सभापति रुद्र खड्कालाई हराउदै चौथो पटक पार्टी सभापतिमा निर्वाचित भए । २०७२ मा सम्पन्न तेह्रो महाधिवेशन पछि भने उनले नेतृत्व छाडिदिए ।
२०५६, २०६४ र २०७० सालमा प्रतिनिधि सभा सदस्यको टिकट पाएर निर्वाचन लडेका कोईरालाले कुनै पनि निर्वाचन जित्न भने सकेनन् ।
हठी स्वभावका कोईराला कार्यकर्ताको संरक्षण गर्न सक्ने र प्रतिपक्ष संग प्रतिवाद गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । तर सानो समुहमा मात्र घुलमिल हुने र संस्थागत चल्न नसकेको आरोप पनि उनलाई लाग्ने गरेको छ । 

















Leave a Reply