दोलखा एमालेका ‘सहनशील’ लडाकु

- bolichali

१९ पुष २०७८, सोमबार

एमाले दोलखाको आसन्न दशौं अधिवेशनको संघारमा नेतृत्व हत्याउने होडबाजीमा भईरहेको चलखेलले अहिले चिसो मौसममा सदरमुकाम चरिकोट तातिरहेको छ ।


वडा स्तरबाट एक चरणको करिब ७ सय प्रतिनिधि छनोट भईसकेको स्थितीमा सदरमुकाम चरिकोट केन्द्रित हुन थालेका प्रतिनिधिहरु बिच कस कसको पल्लाभारी हुने भन्ने जोडघटाउ र छलफलले माहोल तताईरहेको छ । जिल्ला पार्टी भित्रको सर्वोच्च्च ठानिने अध्यक्ष पदमा पुग्न चार जना आकाँक्षीहरु बिच रस्साकस्सी चलिरहेको छ । आकाँक्षीहरु बिच पार्टी भित्र हिजो देखी आन्दोलनलाई कसले हाँक्यो र को वरीष्ठता भन्ने बहस शुरु भएको छ ।


दोलखा एमालेको वागडोर सम्हाल्न मैदानमा ओर्लिएका कुनै पनि आकाँक्षी दुधले नुहाएका भने छैनन् । निकट कार्यकर्ताहरुलाई एक अर्काको आलोचनामा उतारिरहेका बेला जिल्ला एमाले हाक्ने लडाईमा रहेका आकाँक्षीहरुको राजनितिक ‘प्रोफाईल’ खोजी गर्ने क्रममा दक्षिणबाट उदाएको एक जना नेता नरबहादुर श्रेष्ठ भेटिए ।


द्धन्दमा दोहोरो मारले मृत्युको मुखबाट जोगायो

२०५८ साल चैत २५ गते ।

तत्कालिन भेड्पु गाविसका अध्यक्ष नरबहादुर श्रेष्ठ गाउँकै बुद्धचोक नजिक विदेशी स्वयंसेवक र स्थानिय अगुवाहरु संग गाविसको शैक्षिक विकास बारे छलफल गर्न बैठक गरिरहेका थिए । तत्कालिन विद्रोही माओवादीका एक हुल हतियारधारी लडाकु उनिहरुको बैठक स्थलमा प्रवेश गरे ।


‘नर श्रेष्ठ भनेको को हो’ लडाकु मध्ये एक जनाले सोधे ।


‘किन होला, मै हु नर’ – श्रेष्ठले जवाफ फर्काए ।


‘तपाई हामी संग हिड्नुस, पार्टीको आदेश छ, अन्यथा तपाईलाई भौतिक कार्बाही हुन्छ’ ति लडाकुले चेतावनी पूर्ण भाषामा भने ।


नर श्रेष्ठलाई आफु माओवादीहरुको अपहरणमा परेको थाहा भईसकेको थियो । उनी पछि लागे । समुहमा गाउँकै चिनेजानेका लडाकु समेत थिए । उनलाई पार्टीले भौतिक कार्बाही गर्ने संकेत केही लडाकुले दिईसकेका थिए ।


मनमनै सोचे – ‘मैले भेड्पुबासीको सेवा बाहेक अरु केही बिगारेको छैन, आ होस, मरेछु भने जनताले सम्झीरहलान्’ ।


बुद्धचोकबाट हिडाईएको ५ दिन पछि उनलाई सिन्धुपाल्चोक र दोलखाको सिमाना दुधपोखरी पु¥याईयो । माओवादीका नेता देशबन्धु (हालका सभामुख अग्नी सापकोटाका भाई)ले बयान लिन सुरु गरे । तत्कालिन एमालेको माथिल्लो तहबाट राजनितिक दबाब बढेकाले माओवादी भौतिक कार्बाहीबाट पछि हटेको थियो ।


२०५९ मा स्थानिय निकायको चुनाव हुने हल्ला चल्दै थियो । देशबन्धुले गाउँमा संगठन नगर्न र गाउँ छाड्न चेतावनी दिए ।

‘स्थानिय चुनाव हुदैन, यदि चुनावमा कसैले भाग लिए उम्मेद्धार काट्छौं, शिक्षक काट्छौं र कर्मचारी पनि काट्छौं’ उनले श्रेष्ठलाई उक्त सन्देश बोकेर फर्कन र गाउँ छाड्न चेतावनी दिदै त्यस दिन अपहरण मुक्त गरे ।


बिद्रोही माओवादीबाट अपहरण मुक्त भएपछि श्रेष्ठ सदरमुकाम चरिकोट फर्किए । गाउँ जान सक्ने स्थिती थिएन् । माओवादी बाट त ज्यान जोगाए । चरिकोट आएको केही महिनामै फेरी राज्य पक्षबाट एउटा फन्दामा परे ।


माओवादीबाट ज्यान जोगाएर सदरमुकाम बिस्थापित भएको उनको परिवारले चरिकोट स्थित बसपार्कमा मेडिकल चलाईरहेको थियो । ब्यारेक र प्रहरी अड्डा पशुपतिडाँडा भन्दा माथिल्लो क्षेत्रमा रहने कारण बसपार्क क्षेत्र उनिहरुको प्रत्यक्ष निगरानी भन्दा अलि टाढा पथ्र्यो । एक दिन बिद्रोही माओवादीका लडाकु उनको मेडिकलमा उपचार गराएर फर्किएका रहेछन । श्रेष्ठले यो कुरा पछि मात्रै थाहा पाए । सैनिक ब्यारेकमा रिपोर्ट पुगिहाल्यो । सेनाले उनलाई त्यही साँझ गिरफ्तार गर्यो । ब्यारेकमा पुर्याएपछि ‘माओवादीको उपचार गराउने तँ हैनस’? भन्दै त्यो रात उनलाई निर्घात कुटेर यातना दिईयो । त्यो रात उनलाई बाच्छु भन्ने लागेको थिएन ।


भोलीपल्ट बिहानै पार्टीका जिल्ला नेता शिव प्रसाद भण्डारीले जिल्लाका सांसदहरु आनन्द पोखरेल र पशुपति चौलागाईलाई खबर गरे । सांसदद्धयले माधव नेपाल मार्फत प्रधनसेनापति संग कुरा गरेपछि श्रेष्ठ छुटे । सेनाको कुटाईबाट करिब एक महिनामा थलामा बसे उनी।


दोलखा एमालेका उपाध्यक्ष श्रेष्ठ जिवनका यि दुई घटना उनी कहिल्यै बिर्सदैनन् । राज्य र बिद्रोही दुवैबाट नराम्ररी प्रताडित बनेका उनको राजनितिक जिवनका यि दुवै घटना बिर्सनयोग्य पनि किन छैनन भने दुवैमा मृत्युको मुखबाट फर्किएका थिए उनी । थुप्रै समकक्षी राज्य र बिद्रोहीबाट मारिदा बाचेर फर्किएका श्रेष्ठले पार्टीका लागी आफुले योगदान गर्न अझै बाँकी रहेको सम्झेर त्यस यता निरन्तर दोलखा एमालेमा क्रियाशिल छन् ।

अखिलबाट शुरु भएको यात्रा
२०३७ सालमा त्रिभुवन मावि मेलुङमा पढ्दा अनेरास्ववियुको प्रारम्भीक कमिटिमा काम गरेका श्रेष्ठ त्यसको केही बर्षमै जिल्लाको बिद्यार्थी राजनितिमा उदाए । जिल्ला कमिटि सदस्य हुँदै, सहसचिव र उपाध्यक्ष बने ।


महेन्द्र खड्का अखिलको जिल्ला अध्यक्ष थिए । खड्का पछि श्रेष्ठका लागी जिल्ला अध्यक्ष चलाउने अवसर आईपुग्यो । २०३९ सालमा उनी अखिलको जिल्ला अध्यक्ष भए । उनी अघि पशुपति चौलागाई, रोहित खत्री लगायतले अखिलको नेतृत्व गरिसकेका थिए । अखिलमा काम गर्दा नरबहादुरले जिल्लाका बिभिन्न बिद्यालयमा भुमिगत रुपले संगठन निर्माण गरे ।


त्यही बर्ष उनले एसएलसी पास गरे । गाउँका सामन्य किसान रहेका पिता बुद्धिमान श्रेष्ठ उनलाई शिक्षक बनाउन चाहन्थे । एक दिन पिताले गाउँकै भीम माविमा शिक्षक जागिर खुवाउनका लागी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण भण्डारीलाई भेट्न लिएर गए । उनलाई मास्टर बन्नै मन थिएन । अध्यक्षले हुदैन भनिदिए हुन्थ्यो जस्तो लाग्यो । नभन्दै बिद्यार्थी राजनितिक गर्नेलाई जागिर खुवाउदा भोली प्रशासनले अफ्ठयारो पार्छ भनेर भण्डारी तर्किए । खुसी हुदै पिता संग घर फर्किए ।


२०४१ सालमा माथिल्लो तह अध्ययन गर्न राजधानी गए । सेनामा रहेका दाजुले मेडिकल लाईन पढ्न सुझाए । माहराजगञ्ज क्याम्पसमा हेल्थ असिसटेन्टमा आवेदन दिए । तर नाम निस्किएन ।

नरदेवी आयुर्वेद क्याम्पसमा आयुर्वेद बिषय पढ्ने सोच बनाए । यहँ भने अखिलको राजनितिक पहुँच प्रयोग गरेर श्रेष्ठ सहित ४ जना नेताहरु नरददेवी आयुर्वेद क्याम्पस भर्ना भए ।


नरदेवी पढ्दा श्रेष्ठले पञ्चायत बिरोधी गतिविधिमा नजिकबाट संलग्न हुने मौका पाए । डाक्टर झलक शर्मा, ताप्लेजुङका युरेन्द्र ओझा, तनहुँका भानुभक्त पौडेल, नवलपरासीका डा. कृष्ण खड्का लगायत उनीहरुको टोली पञ्चायत विरुद्ध रातभर वाल पेन्टिङ र पर्चा छर्ने काम गथ्र्यो । त्यही कलेजबाट आयुर्वेदमा बिषारत तथा सामन्य चिकित्सामा साढे तिन बर्षे कोर्स पुरा गरे ।


काठमाण्डौमै सक्रिय रहँदा २०४२ सालमा पार्टीको भातृ संगठन युथ कम्युनिष्ट लिगको सदस्यता पाए । एमालेका हालका महासचिव शंकर पोखरेल सहित सदस्यता पाउने १० जना मध्ये श्रेष्ठ पनि एक थिए । पछि युवाहरुको उक्त संगठन प्ररायु संघमा रुपान्तरित भयो । पढाई चलिरहेका बखत पनि उनी जिल्ला निरन्तर आउजाउ गर्थे ।

२०४२ सालमा चुनाव घोषणा भयो । अखिलको जिल्ला सम्मेलन मार्फत नेतृत्व हस्तान्तरण गर्ने र चुनावी प्रचारमा समेत काम गर्नलाई उनले जिल्ला जाने निर्णय गरे । पार्टीले उठाएका जनपक्षिय उम्मेद्धार जितविर लामाको प्रचार सामग्री बोकेर जिल्ला फर्कदै थिए । सातदोबाटो चोक स्थित लक्ष्मी लजबाट पञ्चायत विरोधी प्रचार सामग्री सहित उनी पक्राउ परे । पक्राउ परे लगतै उनलाई तिन महिनाका लागी जेल पठाईयो । उनी पञ्चायतकालमा तेस्रो पटक पक्राउ परेका थिए ।


अध्यक्ष श्रेष्ठ जेलमा रहेकाले स्वर्गिय पशुपति चौलागाईको अगुवाईमा अखिलको जिल्ला अधिवेशन सम्पन्न भयो । श्रेष्ठ पछि गोपाल बस्नेत, शंकर उप्रेती, पुष्प बस्नेत, जिवस खड्का, रोहित खड्का, राजेन्द्र मानन्धर, हरिवंश चौलागाई, शान्त केसी, तिर्थ खड्का, सन्तोष बिमली लगायत अखिलको अध्यक्ष बने ।

२०४४ मा पढाई सकेपछि २०४५ सालमा अन्तर्जातिय विवाह गरेर सोही बर्ष उनी जागिरमा जोडिए । पहिलो पोष्टीङ कास्की स्थित खगराज अधिकारीको गाउँमा भयो । पार्टी सदस्यता समेत त्यतै सारे । जागिरका क्रममा कास्की, धुलिेखल, सोलु, खोटाङ, सिन्धुपाल्चोक, काठमाण्डौं लगायतका जिल्लामा पुगे ।


गाविस अध्यक्ष देखी गाउँपालिका प्रमुख सम्म

२०५४ मा स्थानिय निकाय निर्वाचन हुने भयो । भेड्पु गाविस अध्यक्ष लड्न पार्टीबाट प्रस्ताव आएपछि स्थायी सरकारी जागिरबाट राजिनामा दिएर श्रेष्ठ गाउँ फर्किए । जेठान अम्बिका गोले कांग्रेसका चल्तापूर्जा नेता थिए । ज्वाई गाविस अध्यक्ष लड्ने निधो भएपछि गोले एमालेमा आए । भेड्पुको अध्यक्ष, उपाध्यक्ष र ९ ओटा वडाध्यक्ष सहित ४७ ओटै सिटमा उनको प्यानल विजयी भयो । त्यतिखेरका ५१ गाविस मध्ये बुलुङ र गैरीमुदी बाहेक सबैमा एमालेले गाविस अध्यक्ष जितेको थियो ।


गाविस अध्यक्ष भएपछि गाउँमा निरन्तर खटिए उनी । फड्के खोलामा पुल थिएन । तिन ओटा झोलुङगे पुल हाले । बिद्यार्थीहरु चकटी बोकेर स्कुल जान्थे । स्थानिय बिद्यालयहरुमा फर्निचर ब्यवस्था गरे । भेड्पुको शिक्षा विकासमा ध्यान दिए । तत्कालिन जिरी गाविसका नोर्बु शेर्पा, ठुलोपातलको बुद्धिमान पाख्रिन संग मिलेर भिएसओ नेपाल बेलायती स्यंसेवकलाई भेड्पु सहित जिरी र ठुलोपातलमा ल्याए । शैक्षिक विकासमा उनिहरुले राम्रो काम गरे । यि बाहेक भेड्पुमा खानेपानी र सिचाईका केही पूर्वाधार बने ।


गाविस अध्यक्ष नै रहँदा श्रेष्ठ पूर्व सांसद ईन्द्रबहादुर खड्काको अध्यक्ष्यतामा रहेको एमालेको जिल्ला सल्लाहकार समितिमा बसेर काम गरे । त्यस पछि आर्थिक बिभाग प्रमुखको जिम्मेवारी पाए ।


गाउको घरमा माओवादीले ताला लगाईदिएका कारण उनी गाउँ फर्कन सकेका थिएनन् । चरिकोटमै केही गर्ने जुक्ती निकाले । पार्टीका केही अग्रजहरु संग युवाहरुलाई प्राविधिक शिक्षा पढाउन कलेज खोल्ने प्रस्ताव राखे । अहेव र अनमी पढाउने गरी दोलखा बहुद्धेश्यीयय तालिम संस्थान शुरु भयो । सञ्चालक समितिमा अग्रज नेता र बुद्धिजिवी समेत बसे । पछि त्यसको सबै व्यवस्थापकीय जिम्मेवारी श्रेष्ठ आफैंले लिए । उनको प्राविधिक तालिम संस्थान (कलेज)बाट उत्पादन भएका करिब एक हजार अहेव र अनमी अहिले पनि देश विदेशमा रोजगारीमा छन् ।


नरबहादुर श्रेष्ठ २५ बर्ष यता निरन्तर जिल्ला पार्टी कमिटिमा छन् । जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य हुँदै उनी २०६७ सालमा आठौं अधिवेशनमा पार्वत गुरुङ अध्यक्ष बन्दा सचिव लडे । झिनो मतले पराजित भए । ७० सालमा ईश्वर पोखरेल अध्यक्ष भएपछि उपाध्यक्ष बने । ७४ को स्थानिय तह निर्वाचनमा एमालेलको तर्फबाट मेलुङ गाउँपालिका अध्यक्ष जिते । अहिले श्रेष्ठ पार्टी जिल्ला कमिटि उपाध्यक्ष छन् ।


पुस २३ गते हुदै गरेको जिल्ला अधिवेशनमा श्रेष्ठले नेकपा एमाले दोलखाको अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् । उनी दोलखा एमालेलाई २०५४ को अवस्थामा पुर्याउने आफ्नो एजेन्डा सुनाउने गरेका छन् ।

श्रेष्ठ पार्टीको संस्थागत विकासका लागी आफु संग थुप्रै एजेन्डा रहेको सुनाउने गरेका छन् । उनी राजनितिमा दलाली प्रथा बढ्दै गएको भन्दै नेकपा एमालेमा कार्यकर्तालाई दलाली गर्ने नभई उद्यमशिल बनाउने आफ्नो योजना रहेको सुनाउने गरेका छन् । ‘हरेक कार्यकर्ताको आफ्नै पेशा होस उसले निश्चित समय छुट्याएर पार्टीका लागी निकालोस, हामी कार्यकर्तालाई दलाली बनाउने प्रथाको अन्त्य गरेर दोलखामा आत्मानिर्भर उद्यमशील कार्यकर्ता सहितको समुन्नत र सुन्दर पार्टी बनाउन चाहन्छौं’ उनले हालै आफु निकट कार्यकर्ताहरु संग भनेका थिए।


कम्युनिष्ट पार्टी भित्र विकास भईरहेको दलाल पुजिवाद नरोके नेपालमा कम्युनिष्ट पार्टी जुनसुकै बेला समस्यामा पर्न सक्ने उनी बताउछन् । यसलाई रोकेर अहिलेको जनताको बहुदलिय जनवादले परिस्कृत पार्टी निर्माण गर्नुपर्छ भन्ने उनको मत छ । हरेक स्थानिय तह पिच्छे कार्यकर्ता कल्याण कोष बनाएर कार्यकर्तालाई बिरामी हुँदा वा दुर्घटनामा पर्दा अफ्ठेरो र समस्यामा संस्थागत सहयोग गर्ने प्रचलन थाल्ने श्रेष्ठको योजना छ ।


यस्तै समयको रफ्तारको गतिमा पार्टी हाक्ने उनको लक्ष्य छ । निर्वाचनमा विकृती रोक्ने र गरिब परिवारको मान्छे चुनाव लड्नै नसक्ने परिस्थिती अन्त्य गर्ने उनको अर्को सपना छ ।


सहनशील स्वभाव
गाउँपालिका अध्यक्ष हुँदा बिद्यालय, सडक लगायतका बिभिन्न मुद्धामा उनले आक्रमण र दुव्र्यवहारको सामना समेत गर्नुपर्यो । तर उनले काँही कतै प्रतिकार गरेनन, आक्रोशित पक्ष संग जुधेनन । श्रेष्ठ त्यो नै आफ्नो शालिनता ठान्छन् ।

‘आक्रोशित पक्ष संग प्रतिकार गरेको भए चर्को रुप लिन्थ्यो, गाउँ द्धन्दको भुमरीमा फस्थ्यो’ उनले निकट कार्यकर्ताहरु संग भन्ने गरेका छन – ‘प्रतिकार गरिन अनि ति पक्षका मानिसहरु गल्ती भयो भनेर आफैं सम्झौता गर्न आउनुभयो, यो नै जितेको महसुश हुन्छ’ ।

श्रेष्ठले गाउँपालिका हाँक्दा भएका कुनै पनि घटनामा प्रतिशोध साँधेका छैनन् । ‘छाड्दिनुस ति सब बिर्सन लायकका घटना हुन’ स्मरण गराउन खोज्नेहरुलाई उनले भन्ने गरेका छन् ‘मैले बिर्सिसके,अब पार्टी कस्तो बनाउने छलफल गर्नुस’ ।


सहनशिल स्वभावका श्रेष्ठको यही सहने बानी विपक्षी संगको लडाईमा प्रत्युत्पादक हुने उनका आलोचकहरुले टिप्पणी गर्ने गरेका छन् । तर श्रेष्ठ भने आफु गरिब परिवार र आन्दोलनबाट आएकोले पार्टी र बिचारलाई कसैं संग सम्झौता नगरी सतिसाल झैं उभिने प्रण कार्यकर्ताहरु संग गर्ने गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्