९ बर्ष सम्म नेतृत्व ‘जाम’ हुँदा आकांक्षी मिलाउनै सकस

- bolichali
२१ पुष २०७८, बुधबार
झण्डै ९ बर्ष सम्म नेतृत्व ‘जाम’ हुँदा दोलखा एमालेको आसन्न जिल्ला अधिवेशनमा आकाँक्षीको लर्को देखिएको छ ।
माओवादी केन्द्र संगको पार्टी एकिकरण र आन्तरिक समस्याले समयमै अधिवेशन हुन नसकेको दोलखा एमालेमा ९ बर्ष पछि हुन लागेको अधिवेशनबाट नेतृत्वमा पुग्न नयाँ र पुराना दुवै पुस्ताका अनुहार अघि सरेका छन ।
दोलखा एमालेको अधिवेशन शुक्रबार सदरमुकाम चरिकोटमा हुदैछ । ५ सदस्यिय पदाधिकारीमा १८ जना भन्दा बढी आकांक्षी देखिएका छन् । अध्यक्षका आकांक्षीहरु परिआए चुनावकै ‘मुड’ मा देखिएपनि जिल्ला तहका शिर्ष नेताहरु सर्वसम्मतीबाट नेतृत्व छान्ने कसरतमा लागेकाले आकाँक्षीहरुको व्यवस्थापन उनिहरुका लागी पेचिलो बन्ने देखिएको छ ।
दोलखा एमालेका वर्तमान अध्यक्ष ईश्वरचन्द्र पोखरेल नेतृत्वको कार्य समिति २०७० बैशाख ६ र ७ गते सम्पन्न जिल्ला अधिवेशनबाट छानिएको थियो । त्यस यता दुई पटक अधिवेशन भईसक्नुपर्ने भएपनि माओवादी केन्द्र संगको पार्टी एकता र आन्तरिक समस्याका कारण हुन सकेन् ।
पार्टी एकता औपचारिक रुपमा तोडिएको झण्डै ९ महिना पछि शुक्रबार हुन लागिरहेको जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष ईश्वर पोखरेलले आफु नदोहो¥याउने घोषणा गरेका छन् । अध्यक्षका आकांक्षी उनकै कमिटिका उपाध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव भरत दुलाल, उपसचिव डबल पाण्डे र सचिवालय सदस्य भरत केसी छन् । उनिहरु प्राय सबै समकालिन हुन् । ९ बर्ष अघि चुनिएका चारै जना दोलखा एमालेका पुराना नेता हुन् ।
जिल्ला कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चुनिने व्यवस्था छ । यि ५ पदमा १८ जना आकांक्षी देखिएका छन् । वडाहरुबाट करिब ७ सय प्रतिनिधि छनोट भएर आईसकेका कारण सदरमुकाम चरिकोटमा आकांक्षीहरु जोडघटाउमा व्यस्त छन् ।
अध्यक्ष पदका आकांक्षी मध्ये पाण्डे जिल्ला समन्वय समितिका प्रमुख हुन भने बाँकी सबै स्थानिय तहमा मेयर र अध्यक्ष छन् ।
दोलखा एमालेको राजनितिमा पोलिटब्युरो सदस्य एवं प्रत्यक्ष निर्वाचित संघीय सांसद, पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, अर्का पोलिटब्युरो सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलको प्रत्यक्ष प्रभाव निर्णायक हुने देखिन्छ ।
अध्यक्ष आकांक्षी मध्ये श्रेष्ठलाई पोलिटब्युरो सदस्य एवं जिल्लाका सांसद पार्वत गुरुङको दरिलो साथ रहेको देखिन्छ । बाँकी उम्मेद्धारलाई सम्मानजनक व्यवस्थापन गरेर श्रेष्ठलाई सर्वसम्मत गराउने पक्षमा गुरुङ छन् । पूर्व मन्त्री पोखरेलले मुख खोलेका छैनन् । जिल्ला आएपनि दक्षिणी भेगको कार्यक्रममा व्यस्त उनी बुधबार दिउसो सम्म सदरमुकाम आईपुगेका छैनन् । । दुई दिन अघि जिल्ला आएका गुरुङले व्यक्तिगत भेटघाट र छलफललाई तिव्रता दिएका छन् । निकटस्थहरुका अनुसार उनी जसरी पनि सर्वसम्मतीमा नेतृत्व चयन गर्न चाहन्छन् ।
हालका जिल्ला अध्यक्ष ईश्वर पोखरेलले ९ बर्ष सम्म नेतृत्व जाम भएका कारण निर्वाचन गराएर नेतृत्व ‘फिल्टर’ हुने गरी पुरानो र नयाँ पुस्ताको समिश्रण सहितको नया जिल्ला कमिटि बनाउनुपर्ने बताउदै आएका छन् ।
अध्यक्षमा निर्वाचन भएमा चारै जना बिच हुने वा घटेर दुई जना बिच हुन्छ भन्नेमा अन्यौल रहेको कार्यकर्ताले बताउने गरेका छन् । निर्वाचन हुने स्थिती आएमा गुरुङले श्रेष्ठलाई साथ दिदा श्रेष्ठ र अर्का उम्मेद्धार बिच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
कार्यकर्ताहरुका अनुसार गुरुङको कित्तामा पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज सरस्वती बस्नेत सहित जिल्ला स्तरमा देखिएका र प्रभाव राख्ने नेता हुनेछन् । एक नेताका अनुसार निर्वाचन हुने स्थिती आएमा पूर्व मन्त्री पोखरेलले तिन मध्येका एकलाई बोक्न सक्छन् । तर पोखरेल निकट ति नेताले उनी समेत अहिले सम्म सर्वसम्मतीबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेको सुनाए ।
सर्वसम्मती हुँदा श्रेष्ठलाई अध्यक्ष बनाएर दुलाल र पाण्डेलाई वर्तमान समितिकै पदाधिकारी (उपाध्यक्ष÷सचिव) र केसीलाई माथिल्लो कमिटि÷बिभागमा व्यवस्थापन गर्न सक्ने गरी खाका निर्माणको तयारीमा गुरुङ र पोखरेल दुवै लाग्न सक्ने लख कार्यकर्ताले काटेका छन् । यदि त्यो नभए तिनै जनालाई वर्तमान कमिटिबाट बाहिर राखेर अन्यत्र व्यवस्थापन हुने गरी सर्वसम्मती गर्न सक्ने आंकलन कार्यकर्ताको छ । श्रेष्ठ बाहेक दुलाल, केसी र पाण्डेको पक्षमा सर्वसम्मती हुने सम्भावना समेत टार्न नसकिने बिश्लेषण एक सचिवालय सदस्यको छ ।
अध्यक्ष पछि उपाध्यक्षमा आकाँक्षी व्यवस्थापन गर्न नेताहरुलाई कठिनाई पर्ने देखिन्छ । उपाध्यक्षमा मित्र जिरेल, जिवस खड्का, राजेन्द्र मानन्धर र हरिवंश चौलागाईले घोषणा गरेका छन् । चारै जना पदाधिकारीमा नयाँ अनुहार हुन् । सचिवमा होम पाठक र हिरा थोकरले आकांक्षा राखेका छन् । पार्टी भित्र उतिकै लोकप्रिय रहेका यि दुई समेत पदाधिकारीमा नयाँ अनुहार हुन् ।
दुई सिट रहेको उपसचिव पदमा झण्डै दश जनाले उम्मेद्धारी घोषणा गरेका छन् । अहिले सम्म उपसचिवमा घोषणा गर्ने कमला बस्नेत एक्ली महिला छिन् । यस्तै, नेता धर्मेन्द्र मोक्तान, अखिलका पूर्व जिल्ला अध्यक्ष रेमश रिमाल, नेता सुन्दर विश्वकर्मा, ईश्वर न्यौपाने, केशब चौलागाई, कृष्ण बस्नेत, माधवलाल कायस्थ, सुन्दर कार्की लगायतले उपसचिवमा आकांक्ष राखेका छन् । पदाधिकारीमा आकांक्षी धेरै रहेका कारण नेताहरुलाई व्यवस्थापन गर्न सकस परिरहेको छ । भीमेश्वर नगरका नेता बलराम थापाले ९ बर्ष सम्म नेतृत्व जाम भएकाले आकांक्षी धेरै देखिनु स्वभाविक रहेको सुनाए ।


















Leave a Reply