पोखरेल र गुरुङ पक्ष बिच भागबन्डा नमिल्दा दाेलखा एमालेमा चुनाव हुँदै
नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतीबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्व मन्त्री एवं जिल्लाका वाहलवाला संघीय सांसद पार्वत गुरुङ पक्ष बिच सहमती बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ ।
शनिबार बिहान सम्म दुई पक्ष बिच पटक पटक भएको छलफलले सहमतीको रुप लिन नसक्दा निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागी नरबहादुर श्रेष्ठ र भरत दुलालले उम्मेद्धारी दर्ता गराएका छन् । पदाधिकारी सहित अन्य सबै पदमा उम्मेद्धारी परेको छ ।
स्रोतका अनुसार पोखरेल पक्षले अध्यक्ष लिने समुहले अध्यक्ष र उपसचिव साथै अध्यक्ष नलिनेले उपाध्यक्ष र सचिव भागबण्डा गर्न प्रस्ताव गरेको थियो । तर गुरुङ पक्षले अध्यक्ष पद सहित सचिव छाड्न नमानेपछि सहमती नबनेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । अध्यक्षमा गुरुङ निकट नरबहादुर श्रेष्ठलाई स्विकारेर जान पोखरेल पक्ष तयार भएको थियो । तर सचिवमा गुरुङ पक्षले आफु पक्षिय उम्मेद्धार होम पाठकलाई बनाउनुपर्ने अडान राखेपछि सहमती बन्न नसकेको ति नेताले बताए । सचिवमा पाठक र हिरा थोकरले उम्मेद्धारी दिएका छन् । अध्यक्ष श्रेष्ठ र सचिवका उम्मेद्धार थोकर एउटै गाउँपालिकाका रहेकाले भुगोल मिलाउनका लागि समेत पाठकलाई सचिव बनाउनुपर्ने तर्क गुरुङ पक्षको थियो । पाठक व्यक्तीगत रुपमा नेता पोखरेल संग समेत उतिकै नजिक छन् । थोकर प्रदेश सभा क्षेत्र नं १ को मेलुङ र पाठक क्षेत्र नं २ को कालिञ्चोक गाउँपालिकाका हुन् ।
नेता पोखरेल भने आफु तटस्थ बस्ने बताउदै आएका छन् । उनी निकट एक जिल्ला नेताका अनुसार दोलखा एमालेमा पशुपति चौलागाईको निधन पछि पार्टी भित्र आफुले अभिभावकत्व लिनुपर्ने कारण आफु कुनै पक्षमा नखुल्ने सन्देश दिन खोजेका छन् । उनी निकट जिल्ला तहका नेताहरुले भने भरत दुलाललाई समर्थन गर्ने भन्दै लविङ सहित मत माग्न थालेका छन् । अध्यक्षका उम्मेद्धार मध्ये श्रेष्ठ अघिल्लो जिल्ला कमिटिका उपाध्यक्ष र दुलाल सचिव हुन् । दुवै गाउँपालिकाका अध्यक्ष समेत छन् । श्रेष्ठलाई यस अघि अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका भरत केसी र डबल पाण्डेले साथ दिने भएका छन् ।
एक जना सिटको उपाध्यक्ष पदमा भने प्रेमकुमारी चौलागाई, जानुका न्याैपाने, राजेन्द्र मानन्धर, कृष्णबहादुर बस्नेत र रामबहादुर श्रेष्ठको उम्मेद्धारी परेको निर्वाचन संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिए । सचिवमा पाठक र थोकरले उम्मेद्धारी दर्ता गराएका छन् । उपसचिवमा १३ जनाले उम्मेद्धारी दिएका छन् । दुई सिटको उपसचिव पदमा उम्मेद्धारी दर्ता गराउनेहरुमा विनकुमार थामी, सुन्दर लामिछाने, हरिवंश चौलागाई, रेशमराजस्वराज रिमाल, धर्मेन्द्र मोक्तान, कमला बस्नेत, केशब चौलागाई, सिता केसी, माधवलाल कायस्थ, गोमा केसी, नवराज कार्की, हरि जिरेल र सुन्दर कार्की छन् । उम्मेद्धारी दर्ताको समय सकिएको र निर्वाचन समितिले उम्म्मेद्धारहरुको विवरण उतार्ने काम गरिरहेको छ ।
उपाध्यक्ष पदमा चौलागाई साझा उम्मेद्धार बन्न सक्ने आंकलन गरिएको छ । स्वर्गिय नेता पशुपति चौलागाईकी बुहारी रहेकी उनलाई उपाध्यक्ष बनाउन दुवै समुहमा दबाब बढेको छ । पशुपति चौलागाईको परिवारलाई पदाधिकारीमा राखेर जादा पार्टी फुटेको बेला फरक सन्देश जाने कारण उनलाई जिताउन दुवै पक्षमा दबाब परेको हो । पोखरेल निकट रहेपनि उनी दुवै पक्षको साझा उम्मेद्धार बन्न सक्ने आंकलन गरिएको छ । तर निर्वाचन हुने बेला सम्म गुरुङले आफु निकट मानन्धरलाई अगाडी बढाउन सक्ने चर्चा समेत उतिकै छ ।
अब सहमतीको सम्भावना टर्दै गएको नेताहरुले बताएका छन् । जिल्लाको राजनितिमा गुरुङ हावी हुदै गएकाले सर्वसम्मतको राजनितिक लाभ उनले व्यक्तीगत रुपमा लिदै हिड्ने कारण जसरी पनि चुनाव गराउनुपर्नेमा पोखरेल पक्षका नेताहरु लागिपरेकाले उक्त सम्भावना न्युन रहेको निकटष्थहरुले बताएका छन् ।
निर्वाचन भने आईतबार बिहान मात्र हुने भएको छ । निर्वाचन समिति संयोजक श्रेष्ठले उम्मेद्धारहरुको रुजु भईरहेको र निर्वाचन आज गर्न नभ्याईने कारण आईतबार बिहानबाट चुनाव हुने बताए ।
Leave a Reply