सरकारी वेवास्ताले चरिकोट अस्पताल ‘लथालिंग’

- bolichali
१५ माघ २०७८, शनिबार
सरकारी वेवास्ता र चरम लापरवाहीका कारण व्यबस्थापन लथालिंग बनेको वागमती प्रदेश सरकारको प्रदेश स्तरिय सरकारी अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।
वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै वेवास्ता र चरम लापरवाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो
।
आफु मातहतको सरकारी अस्पतालमा वागमती प्रदेश सरकारले अहिले सम्म प्रदेशका सरकारी जनशक्ती खटाउन सकेको छैन् । अस्पताल प्रमुख सहितका जनशक्ती नहुँदा अस्पतालको खाता सञ्चालन हुन सकेको छैन भने दैनिक खर्च टार्नै मुश्किल छ । स्थानिय भीमेश्वर नगरपालिकाले आफ्ना कर्मचारीको तलब रोकेर सापटीका रुपमा अस्पतालका कर्मचारीलाई ५ महिना यता तलब खुवाईरहेको छ । प्रदेशको लापरवाहीले बजेट निकासा नआउदा दैनिक सेवा सुविधामा अवरोध पुग्न थालेको छ ।
अब पनि बजेट नपठाए माघबाट आफुले अस्पतालमा तलब खुवाउन नसक्ने र सेवा बन्द हुने चेतावनी नगरपालिका कार्यालयलाई दिएको छ । व्यवस्थापन कमजोर हुँदा कर्मचारीहरु बिच टकराव बढेको छ भने कतिपय सेवा सुरु गर्न नसक्दा केही मेसिन र उपकरणहरु थन्किएर खिया लाग्ने अवस्थामा पुगेका छन् । भद्रगोल तरिकाबाट अस्पताल चलेकाले बिरामीहरु सेवामा अस्पताल भित्रै ठगिएका गुनासा समेत बढ्न थालेका छन् ।
प्रदेश मातहत गएपछि झन भद्रगोल
यस अघि प्राथामिक स्वास्थ्य केन्द्र रहेको अस्पताललाई तत्कालिन सरकारले न्याय हेल्थ नेपाल नामक गैरसकारी संस्थालाई निशुल्क उपचार सहितको बिशेषज्ञ सेवा दिने गरी २०७२ सालमा १० बर्षका लागी व्यबस्थापनको जिम्मा दिएको थियो ।
तर आफ्नो संस्थामा विदेशी अनुदान रोकिएको भन्दै गत कार्तिक १६ गते उक्त ‘एनजिओ’ फर्केपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बर्षको मंसिर १८ गते चरिकोट सहित ५ ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गर्दै अस्पताल सञ्चालनका लागी केन्द्र सरकारले विनियोजन गरेको बजेट समेत वागमती प्रदेश सरकारमा पठाएको थियो । कार्तिक देखी मंसिर सम्मको एक महिना पुरानै कर्मचारी करारमा राखेर भीमेश्वर नगरपालिकाले नगर अस्पतालका रुपमा चलाएको थियो।
प्रदेशले लिदा अस्पतालमा एनजिओकै ६३ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी काम गर्न राजी भएका थिए । ति बाहेक साविकको प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका नेपाल सरकारका १० जना स्थायी कर्मचारी थिए । ति सबै कर्मचारीको व्यबस्थापन गरेर एक जना मेडिकल सुपरिटेण्डेन्टलाई अस्पताल प्रमुखका रुपमा खटाउनुपर्ने प्रदेश सरकारले अहिले सम्म उक्त पदका चिकित्सक खटाएको छैन् । यस्तै अस्पतालमा प्रदेश सरकारको लेखा अधिकृत समेत कोही छैन् । ‘यो अस्पताल प्रदेश सरकारको भनिएको छ, तर यहाँ प्रदेशमा समायोजना भएर आएका कोही पनि सरकारी कर्मचारी छैनन’ एक कर्मचारीले भने – ‘यो खालको भद्रगोल स्थिती काहीं पनि छैन होला’ ।
प्रदेश मातहत लगेपछि विनियोजित बजेट अहिले सम्म आईपुगेको छैन् । ‘मंसिर देखी गत असार सम्म अस्पताल चलाउनु भनेर डेढ करोड रुपैंया आयो’ अस्पतालका सुचना अधिकारी शान्ति प्रसाद न्यौपानेले भने – ‘जसोतसो असार सम्म चलायौं, तर साउन देखी मंसिर सम्म तलब खुवाउने स्थिती नभएपछि भीमेश्वर नगरपालिकाले पछि सोधभर्ना गर्ने गरी अर्कैं शिर्षक बाट सापटी हालेर मंसिर सम्मको तलब खुवाएको छ, अब चाही खुवाउन सकिदैन भन्नु भाको छ, के हुन्छ थाहा छैन’ ।
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रदेश सरकारले अस्पतालको व्यवस्थापन आफैं गर्ने गरी बजेट निकासा नगरे माघ बाट सेवा बन्द हुने बताए । ‘अस्पताल सकभर अवरोध नगरौं भनेर हाम्रो नगरपालिकाका कर्मचारीको तलब कटाएर पछि सोधभर्ना गर्ने गरी अस्पतालका कर्मचारीलाई मंसिर सम्मको तलब खुवायौं’ उनले भने – ‘अस्पताल चलोस भनेर नगरका कर्मचारीलाई तलब रोकेको यतिका महिना भईसक्यो, कतिञ्जेल थेग्ने?’ । खड्काले अब पनि प्रदेश सरकारले बजेट निकासा नपठाए माघ बाट अस्पतालमा ताला लगाउनुपर्ने स्थिती आउन सक्ने बताए । प्रदेश सरकारले अस्पतालका कर्मचारीहरुको दरबन्दी संरचना स्विकृत नगरेको, जनशक्ती सुमेत नखटाएको र बजेट समेत निकासा नगरेको भन्दै भद्रगोल अवस्था बन्दै गएको खड्काले सुनाए ।
सेवा समेत सुरु हुन सकेन
प्रदेशको वेवास्ताकै कारण बजेट अभाव हुँदा अस्पताल भित्र जडान गरिएका अक्सिजन प्लान्ट, भेन्टिलेटर, डायलासिस लगायतका सेवा सुरु हुन सकेको छैन् । अक्सिजन प्लान्टका लागी ट्रान्सफर्मर खरिद गर्न नसक्दा ६ महिना अघि नै तयार भएको प्लान्ट सुरु हुन सकेको छैन् । प्लान्ट नचल्दा अस्पताल भित्र जडित ५ बेडको भेन्टिलेटर समेत सुरु हुन सकेको छैन् । मृगौला फेल भएका रोगीहरुका लागी आवश्यक पर्ने डायलासिस सेवाका उपकरण त्यसै थन्किएर बसेका छन् । यो बिचमा प्रदेश सरकारले एउटा एक्स्रे मेसिन र डायलासिस गर्ने मेसिन पठाएको छ ।
व्यवस्थापन भद्रगोल बनेका कारण अस्पतालको सरकारी फार्मेशीबाट निशुल्क औषधी नपाईएको, रातको समयमा ईमरजेन्सीमा डाक्टर नआउने गरेको जस्ता गुनासा बढ्न थालेका छन् । अस्पताल हाता भित्र एउटा निजी मेडिकल समेत सञ्चालनमा छ ।
करारकै डाक्टर अस्पताल प्रमुख
‘एनजिओ’ फर्किएपछि अस्पताल चलाउन भीमेश्वर नगरपालिकाले साढे तिन लाख तलब दिएर एमडिजिपी चिकित्सक विनोद दंगाललाई अस्पताल प्रमुखका रुपमा करारमा नियुक्त गरेको थियो ।
त्यस यता दंगाल नै अस्पताल प्रमुख छन् । अस्पतालमा संघीय सरकारबाट अर्का एमडिजिपि देवेन्द्र गौतम ईन्टर्नसिपमा आएका थिए । उनी र दंगाल बिच टकराव थियो । शुक्रबार अस्पतालका कर्मचारीलाई धम्क्याएको, दुव्र्यवहार गरी गैरचारित्रिक चरित्र देखाएको, आन्तरिक बिषय सामाजिक सञ्जालमा लेखेर पदाधिकारीको मानमर्दन गरेको जस्ता आरोप लगाएर अस्पतालका अध्यक्ष समेत रहेका नगरपालिकाका मेयर भरतबहादुर केसीले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता हुनु भन्दै चिठी थमाएका छन् ।
अस्पतालमा ७३ जना कर्मचारी छन् । ति मध्ये १० जना संघीय सरकारका छन् । उनिहरु मध्ये दुई चिकित्सक र एक जना नर्स अध्ययन विदामा बसेका छन् । बाँकी सबै करारका हुन् ।
एनएचडियुको ठेक्का रद्ध
अस्पताल भित्र नवजात शिशुहरुलाई राखिने आईसियु अर्थात (एनएचडियु) निर्माण गर्न संघीय सरकारले पठाएको २ करोड रुपैंया बजेट मार्फत निकालिएको ठेक्का ‘सेटिङ’मा दिन लागेको भन्दै अख्तियारमा उजुरी परेपछि रद्ध भएको छ । चौथो भएको कम्पनीलाई ठेक्का दिन खोजेपछि उजुरी परेको थियो ।
‘शल्यक्रियाबाट सुत्केरी गराउदा शुल्क तिराईयोे’
सरकारले लागु गरेको निशुल्क कार्यक्रमलाई गिज्याउने गरी अस्पतालका कर्मचारीले बिरामीलाई शुल्क तिराएको भेटिएको छ ।सरकारले मातृ शिशु कार्यक्रम लागु गरेका अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा निशुल्क गर्नुका साथै एउटा शल्यक्रिया गर्दा सामग्री किन्नका लागी उक्त अस्पताललाई ७ हजार रुपैंया दिन्छ । तर चरिकोट अस्पतालका चिकित्सक र कर्मचारीले त्यस्तो शल्यक्रिया गराउँदा अस्पताल भित्र सञ्चालित निजी मेडिकल बाट ३ हजार रुपैंया तिराएका छन् ।
गत पुस २९ गते एक जना महिलाको सुत्केरी गराउन आउँदा उनका परिवारले निजी मेडिकल बाट सामग्री किनेका थिए । सरकारले भने यस्ता सामग्री किन्न प्रति शल्यक्रिया ७ हजार उपलब्ध गराउछ । उक्त रकमबाट अस्पताल आफैंले लाग्ने सामग्री खर्च गर्नुपर्छ ।


















Leave a Reply