तामाकोशीले विकास संगै अरु पनि तान्यो

- bolichali
१२ जेष्ठ २०७९, बिहीबार
उत्तरी तिब्बत संग सिमा जोडिएको लामावगर गाउँ । सुदुर कुनाबाट पहाडै पहाड छिचोलेर एक दिनभरि हिडेपछि मात्रै दोलखा उत्तरको व्यापारिक केन्द्र सिंगटी बजार पुगिन्थ्यो । सिंगटीमा भर्खर सडक पुगेको थियो । त्यहाँबाट खाल्डाखुल्डी परेको सडकमा पिंङमा मच्चिए झैं मच्चिदै चार घण्टा यात्रा गरेपछि मात्र बल्ल सदरमुकाम चरिकोट पुगिन्थ्यो ।
विगु गाउँपालिका १ लामावगरका ६५ बर्षिय राम तामाङ १३ बर्ष अघिका कठिन दिनहरु सम्झिदा हर्षविभोर हुन्छन् । ‘यति सुदुर गाउँमा यो सडक आउला भनेर कहिल्यै कल्पना सम्म गरेका थिएनौं’ उनले भने । आज लामावगर र चरिकोटको दुरी दुई घण्टामा छोटिएको छ ।
तामाङले भने झैं लामागवर गाउँमा सडक पुग्नु कल्पना भन्दा बाहिरकै बिषय थियो । जसका पछाडी केही कारण थिए । लामावगरमा चट्टानयुक्त ठुल ठुला पहाड फोरेर सडक पु¥याउने कुरा आफैंमा चुनौतीपूर्ण थियो । पु¥याउने योजना बनिहालेपनि ठुलो सरकारी बजेट यही एउटा सडकका लागि खन्याउन सक्ने हैसियत तत्कालिन सिहंदरबार संग थिएन् ।
कुनै समयको दुर्गम र सुदुर गाउँ लामावगरका लागि आज चरिकोट पानी पंधेरो बनेको छ । यहाँका नागरिक जम्मा २ घण्टा यात्रा गरेर सदरमुकाम चरिकोट पुग्छन् । कुनै बेला दिनभर लाग्ने लामावगर आज एक बिहानमै ओहोरदोहोर गर्न सकिन्छ ।
..
उत्तरी कुनो दोलखाको विगु गाउँपालिका १ स्थित लामावगरमा एउटा सानो उपत्यका छ । दुवैतिर पहाडको बिचबाट तामाकोशी नदी बग्ने कारण यसलाई प्राकृतिक ड्याम भनिन्छ । यही उपत्यकामा बाँध बाँधेर तामाकोशी नदीको पानीलाई सुरुङै सुरुङ गोंगर सम्म दौडाईएको छ । गोंगर बजारबाट एक किलोमिटर भित्र भुमिगत बिद्युत गृह बनाईएको छ । यही बिद्युतगृहमा लामावगरबाट खसालिएको पानीले ६ ओटा टर्बाईन घुमाएर निकालिएको उर्जालाई सञ्चित गरेर बाहिर निकाली ट्रान्समिसन लाईन मार्फत ४ सय ५६ मेगावाट बिजुली मुलुकका लागि पठाईएको छ ।
लामावगर पुग्दा माथिल्लो तामाकोशी मात्र देखिदैन । माथिल्लो तामाकोशी घुमेर आउनेहरु यहाँको विकास पनि हेरे फर्किन्छन । ‘माथिल्लो तामाकोशीले आफु संगै धेरै चिज लिएर आयो’ विगु गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्ठीर खड्काले एउटा भेटमा भनेका थिए – ‘तामाकोशीले हामीलाई दिएको मुख्य कुरा सडक नै हो, यो आएको थिएन भने हामीलाई लामावगर सडक पु¥याउन बर्षौ लाग्थ्यो’ । तामाकोशीले उत्तरका नागरिकको जिवनस्तर बदलेको उनी बताउछन् । खड्का तामाकोशीले सडक संगै विकासका थुप्रै ढोकाहरु खोलेको बताउछन् । ‘सडक बन्यो, हाम्रो जिवनस्तर बदल्यो, यसैले उत्तरका अरु थुप्रै बस्तीहरुको विकासमा ढोका खोल्यो’ ।
२०६३ सालमा रिर्पोटिङका क्रममा सिंगटीबाट लामावगरका लागि पैदल यात्रा शुरु गर्दै गर्दा हामीलाई समेत गोंगर पुग्न एक दिन लागेको थियो । विकट गाउँको रहनसहन संगै स्थानीयको कष्टकर जिवनशैलीको लामो रिर्पोटीङ गरेर हामी सदरमुकाम फर्किएका थियौं । हामीले त्यस बेला लामावगरमा काठ र ढुंगाको छानोका घरमा बसेर गरेको रिर्पोटीङ आजको दिन लामावगर पुग्दा ढलान र कंक्रिटका घरहरुमा गर्न पाईएको छ ।
आज केही मिनेटमै लामावगर यात्रा गर्न सकिने भएको छ । त्यहाँबाट उत्तरी सिमा तर्फ समेत सडक तन्किदै छ । २०६३ देखि खन्न शुरु गरिएको लामावगर पुग्ने सडकलाई लामो समय लाग्यो । अनेक बाधा र अवरोध बिच ६७ सालमा बल्ल गोंगर गाडी पुग्यो । त्यही बेला देखि माथिल्लो तामाकोशी निर्माण शुरु भएको हो । दोलखा बजारबाट सिंगटी हुँदै लामावगर पुग्ने यो सडक निर्माणमा मात्र आयोजनाले करिब दुई अर्ब खर्च गरेको थियो ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा करिब ८५ अर्ब खर्च भयो । उक्त रकम मध्ये ब्याज र ठेकेदारको भुक्तानी बाहेक अरु ६० प्रिितशत बढी रकम स्थानीय स्तरमै खर्च भयो । यसले सिंगटी बजार, भोर्ले , गोंगर, जगत, लामावगर लगायत उत्तरका गाउँ र बजार केन्द्रहरुमा आर्थिक चहलपहल गरायो । ठुलो संख्यामा स्थानीयले आयोगजना, ठेकेदार कम्पनीको साईट लगायतका ठाउँमा रोजगारी र पेटी ठेकेदारको काम पाए । सबैभन्दा ठुलो आयोजनाले स्थानीयलाई सेयर दिलायो ।
त्यसपछि तानिए अरु पनि
माथिल्लो तामाकोशी निर्माण शुरु भएपछि दोलखा उत्तरमा अरु पनि आयोजना बन्न शुरु भए । यही बिचमा दर्जन बढी साना ठुला आयोजना निर्माण भईसकेका छन् । जगतमा १० मेगावाटको सिप्रङखोला जलबिद्युत आयोजना बनेको छ । सुरी भन्दा माथिल्लो क्षेत्रमा आधा दर्जन आयोजना बनेका छन् । तामाकोशी तेस्रो आयोजना समेत बनिरहेको छ । लामावगर भन्दा माथिल्लो क्षेत्रमा दुई ओटा ठुला जलबिद्युत आयोजनाहरु निर्माण भईरहेका छन् ।
यस्तै चिनको तिब्बती सिमा जोड्ने सडक निर्माणको काम समेत धमाधम चलिरहेको छ । लामावगरबाट चिनको सिमाना करिब १५ किलोमिटरमा पुगिन्छ । नेपाललाई तिब्बत संग जोड्ने यो सडक सञ्जाल छोटो र छरितो हुने बिज्ञहरु बताएका छन् । चट्टायुक्त पाहाड रहेका कारण यो सडकमा पहिरोको जोखिम नहुने र यो मार्गबाट तिब्बतको सिगात्से शहर असाध्यै छोटो दुरीमा पुगिने जानकारहरुले बताउने गरेका छन् ।
२०५४ सालमा अष्ट्रीयन नागरिक त्रिश्चियन उल्हरले माथिल्लो तामाकोसी जलबिद्युत आयोजना सस्तोमा निर्माण हुन सक्ने भनेर पत्ता लगाएपछि बिद्युत प्राधिकरणले यो आयोजनामा हात हाल्यो ।
पानी नचुहिने खालको बलियो प्राकृतिक बाँध रहेका कारण सस्तोमा निर्माण हुन सक्ने यो परियोजना स्वदेशी लगानीमा बनाउने प्रस्ताव आयो । आफ्नै लगानीबाट यति ठुलो परियोजना सम्पन्न गर्न नसकिने भन्दै तत्कालिन सरकारका मन्त्रीहरु यो परियोजनाबाट हच्किएका थिए ।
तर पनि स्वदेशी पुँजीबाटै पहिलो पटक नेपाल आफैंले यति ठुलो आयोजना बनाई छाड्ने अठोट तत्कालिन अधिकारीहरुले राखेर यो आयोजनालाई अघि बढाए । २०६३ सालमा कम्पनी बनाएर अघि बढाईएको हाल सम्मकै नेपाली लगानीबाट निर्माणाधिन सबै भन्दा ठुलो आयोजनामा पछि राष्ट्रिय स्तरका ठुला लगानीकर्ताहरुबाट धमाधम लगानी जुट्न थाल्यो । ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर संरचनामा निर्माण हुदै गरेको माथिल्लो तामाकोसीमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २÷२ अर्ब, नेपाल सरकारको ११ अर्ब ऋण लगानी छ । ऋण लगानीकर्ता, तिनमा कार्यरत कर्मचारी, सञ्चय कोषका सञ्चय कर्ता, देशभरका सर्वसाधरण र दोलखाबासीको गरेर आयोजनामा करिब ५ अर्ब रुपैंया सेयर छ । २०६७ भदौमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले सिलन्यास गरेर सुरु गरेको यो आयोजना २०७३ असारमा सम्पन्न हुने शुरुवाती लक्ष्य राखिएको थियो । तर भुकम्प र नाकाबन्दीले आयोजनालाई २ बर्ष पछि धकेलिदियो । भुकम्प र नाकाबन्दी सहेको आयोजना अर्को एउटा तगारोमा फस्न पुग्यो – ‘पाईप जडान’ ।
उक्त पाईप जडानमा ढिला गर्ने ठेकेदारलाई समेत निकालेर सरकारले काम अगाडी बढायो र गत बर्षको जेठबाट आयोजनाबाट बिजुली बलेको छ । माथिल्लो तामाकोशीले दोलखा उत्तरमा आफुले उज्यालो दिए संगै विकास र अरु थुप्रै चिजहरु छाडेको छ ।


















Leave a Reply