तामाकोशीले विकास संगै अरु पनि तान्यो

- bolichali

१२ जेष्ठ २०७९, बिहीबार

उत्तरी तिब्बत संग सिमा जोडिएको लामावगर गाउँ । सुदुर कुनाबाट पहाडै पहाड छिचोलेर एक दिनभरि हिडेपछि मात्रै दोलखा उत्तरको व्यापारिक केन्द्र सिंगटी बजार पुगिन्थ्यो । सिंगटीमा भर्खर सडक पुगेको थियो । त्यहाँबाट खाल्डाखुल्डी परेको सडकमा पिंङमा मच्चिए झैं मच्चिदै चार घण्टा यात्रा गरेपछि मात्र बल्ल सदरमुकाम चरिकोट पुगिन्थ्यो ।


विगु गाउँपालिका १ लामावगरका ६५ बर्षिय राम तामाङ १३ बर्ष अघिका कठिन दिनहरु सम्झिदा हर्षविभोर हुन्छन् । ‘यति सुदुर गाउँमा यो सडक आउला भनेर कहिल्यै कल्पना सम्म गरेका थिएनौं’ उनले भने । आज लामावगर र चरिकोटको दुरी दुई घण्टामा छोटिएको छ ।


तामाङले भने झैं लामागवर गाउँमा सडक पुग्नु कल्पना भन्दा बाहिरकै बिषय थियो । जसका पछाडी केही कारण थिए । लामावगरमा चट्टानयुक्त ठुल ठुला पहाड फोरेर सडक पु¥याउने कुरा आफैंमा चुनौतीपूर्ण थियो । पु¥याउने योजना बनिहालेपनि ठुलो सरकारी बजेट यही एउटा सडकका लागि खन्याउन सक्ने हैसियत तत्कालिन सिहंदरबार संग थिएन् ।
कुनै समयको दुर्गम र सुदुर गाउँ लामावगरका लागि आज चरिकोट पानी पंधेरो बनेको छ । यहाँका नागरिक जम्मा २ घण्टा यात्रा गरेर सदरमुकाम चरिकोट पुग्छन् । कुनै बेला दिनभर लाग्ने लामावगर आज एक बिहानमै ओहोरदोहोर गर्न सकिन्छ ।
..
उत्तरी कुनो दोलखाको विगु गाउँपालिका १ स्थित लामावगरमा एउटा सानो उपत्यका छ । दुवैतिर पहाडको बिचबाट तामाकोशी नदी बग्ने कारण यसलाई प्राकृतिक ड्याम भनिन्छ । यही उपत्यकामा बाँध बाँधेर तामाकोशी नदीको पानीलाई सुरुङै सुरुङ गोंगर सम्म दौडाईएको छ । गोंगर बजारबाट एक किलोमिटर भित्र भुमिगत बिद्युत गृह बनाईएको छ । यही बिद्युतगृहमा लामावगरबाट खसालिएको पानीले ६ ओटा टर्बाईन घुमाएर निकालिएको उर्जालाई सञ्चित गरेर बाहिर निकाली ट्रान्समिसन लाईन मार्फत ४ सय ५६ मेगावाट बिजुली मुलुकका लागि पठाईएको छ ।


लामावगर पुग्दा माथिल्लो तामाकोशी मात्र देखिदैन । माथिल्लो तामाकोशी घुमेर आउनेहरु यहाँको विकास पनि हेरे फर्किन्छन । ‘माथिल्लो तामाकोशीले आफु संगै धेरै चिज लिएर आयो’ विगु गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्ठीर खड्काले एउटा भेटमा भनेका थिए – ‘तामाकोशीले हामीलाई दिएको मुख्य कुरा सडक नै हो, यो आएको थिएन भने हामीलाई लामावगर सडक पु¥याउन बर्षौ लाग्थ्यो’ । तामाकोशीले उत्तरका नागरिकको जिवनस्तर बदलेको उनी बताउछन् । खड्का तामाकोशीले सडक संगै विकासका थुप्रै ढोकाहरु खोलेको बताउछन् । ‘सडक बन्यो, हाम्रो जिवनस्तर बदल्यो, यसैले उत्तरका अरु थुप्रै बस्तीहरुको विकासमा ढोका खोल्यो’ ।

२०६३ सालमा रिर्पोटिङका क्रममा सिंगटीबाट लामावगरका लागि पैदल यात्रा शुरु गर्दै गर्दा हामीलाई समेत गोंगर पुग्न एक दिन लागेको थियो । विकट गाउँको रहनसहन संगै स्थानीयको कष्टकर जिवनशैलीको लामो रिर्पोटीङ गरेर हामी सदरमुकाम फर्किएका थियौं । हामीले त्यस बेला लामावगरमा काठ र ढुंगाको छानोका घरमा बसेर गरेको रिर्पोटीङ आजको दिन लामावगर पुग्दा ढलान र कंक्रिटका घरहरुमा गर्न पाईएको छ ।


आज केही मिनेटमै लामावगर यात्रा गर्न सकिने भएको छ । त्यहाँबाट उत्तरी सिमा तर्फ समेत सडक तन्किदै छ । २०६३ देखि खन्न शुरु गरिएको लामावगर पुग्ने सडकलाई लामो समय लाग्यो । अनेक बाधा र अवरोध बिच ६७ सालमा बल्ल गोंगर गाडी पुग्यो । त्यही बेला देखि माथिल्लो तामाकोशी निर्माण शुरु भएको हो । दोलखा बजारबाट सिंगटी हुँदै लामावगर पुग्ने यो सडक निर्माणमा मात्र आयोजनाले करिब दुई अर्ब खर्च गरेको थियो ।


माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा करिब ८५ अर्ब खर्च भयो । उक्त रकम मध्ये ब्याज र ठेकेदारको भुक्तानी बाहेक अरु ६० प्रिितशत बढी रकम स्थानीय स्तरमै खर्च भयो । यसले सिंगटी बजार, भोर्ले , गोंगर, जगत, लामावगर लगायत उत्तरका गाउँ र बजार केन्द्रहरुमा आर्थिक चहलपहल गरायो । ठुलो संख्यामा स्थानीयले आयोगजना, ठेकेदार कम्पनीको साईट लगायतका ठाउँमा रोजगारी र पेटी ठेकेदारको काम पाए । सबैभन्दा ठुलो आयोजनाले स्थानीयलाई सेयर दिलायो ।

त्यसपछि तानिए अरु पनि
माथिल्लो तामाकोशी निर्माण शुरु भएपछि दोलखा उत्तरमा अरु पनि आयोजना बन्न शुरु भए । यही बिचमा दर्जन बढी साना ठुला आयोजना निर्माण भईसकेका छन् । जगतमा १० मेगावाटको सिप्रङखोला जलबिद्युत आयोजना बनेको छ । सुरी भन्दा माथिल्लो क्षेत्रमा आधा दर्जन आयोजना बनेका छन् । तामाकोशी तेस्रो आयोजना समेत बनिरहेको छ । लामावगर भन्दा माथिल्लो क्षेत्रमा दुई ओटा ठुला जलबिद्युत आयोजनाहरु निर्माण भईरहेका छन् ।


यस्तै चिनको तिब्बती सिमा जोड्ने सडक निर्माणको काम समेत धमाधम चलिरहेको छ । लामावगरबाट चिनको सिमाना करिब १५ किलोमिटरमा पुगिन्छ । नेपाललाई तिब्बत संग जोड्ने यो सडक सञ्जाल छोटो र छरितो हुने बिज्ञहरु बताएका छन् । चट्टायुक्त पाहाड रहेका कारण यो सडकमा पहिरोको जोखिम नहुने र यो मार्गबाट तिब्बतको सिगात्से शहर असाध्यै छोटो दुरीमा पुगिने जानकारहरुले बताउने गरेका छन् ।


२०५४ सालमा अष्ट्रीयन नागरिक त्रिश्चियन उल्हरले माथिल्लो तामाकोसी जलबिद्युत आयोजना सस्तोमा निर्माण हुन सक्ने भनेर पत्ता लगाएपछि बिद्युत प्राधिकरणले यो आयोजनामा हात हाल्यो ।

पानी नचुहिने खालको बलियो प्राकृतिक बाँध रहेका कारण सस्तोमा निर्माण हुन सक्ने यो परियोजना स्वदेशी लगानीमा बनाउने प्रस्ताव आयो । आफ्नै लगानीबाट यति ठुलो परियोजना सम्पन्न गर्न नसकिने भन्दै तत्कालिन सरकारका मन्त्रीहरु यो परियोजनाबाट हच्किएका थिए ।

तर पनि स्वदेशी पुँजीबाटै पहिलो पटक नेपाल आफैंले यति ठुलो आयोजना बनाई छाड्ने अठोट तत्कालिन अधिकारीहरुले राखेर यो आयोजनालाई अघि बढाए । २०६३ सालमा कम्पनी बनाएर अघि बढाईएको हाल सम्मकै नेपाली लगानीबाट निर्माणाधिन सबै भन्दा ठुलो आयोजनामा पछि राष्ट्रिय स्तरका ठुला लगानीकर्ताहरुबाट धमाधम लगानी जुट्न थाल्यो । ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर संरचनामा निर्माण हुदै गरेको माथिल्लो तामाकोसीमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २÷२ अर्ब, नेपाल सरकारको ११ अर्ब ऋण लगानी छ । ऋण लगानीकर्ता, तिनमा कार्यरत कर्मचारी, सञ्चय कोषका सञ्चय कर्ता, देशभरका सर्वसाधरण र दोलखाबासीको गरेर आयोजनामा करिब ५ अर्ब रुपैंया सेयर छ । २०६७ भदौमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले सिलन्यास गरेर सुरु गरेको यो आयोजना २०७३ असारमा सम्पन्न हुने शुरुवाती लक्ष्य राखिएको थियो । तर भुकम्प र नाकाबन्दीले आयोजनालाई २ बर्ष पछि धकेलिदियो । भुकम्प र नाकाबन्दी सहेको आयोजना अर्को एउटा तगारोमा फस्न पुग्यो – ‘पाईप जडान’ ।


उक्त पाईप जडानमा ढिला गर्ने ठेकेदारलाई समेत निकालेर सरकारले काम अगाडी बढायो र गत बर्षको जेठबाट आयोजनाबाट बिजुली बलेको छ । माथिल्लो तामाकोशीले दोलखा उत्तरमा आफुले उज्यालो दिए संगै विकास र अरु थुप्रै चिजहरु छाडेको छ ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्