त्यो गुमुखोला बजार, जसले कुनै बेला जिल्लै चम्काउथ्यो

- bolichali
२१ असार २०७८, सोमबार
बोलीचाली संवाददाता
दोलखा, साउन ५ । प्राय घर खण्डहर भईसकेका छन् । कतिका अवशेष मात्र बाँकी छन । केही सग्लै देखिन्छन् ।
भग्नावशेष घरका भित्ताहरुमा कांग्रेस र एमालेका हस्तलिखित नाराका ‘पेन्टिङ’हरु अझै मेटिईसकेका छैनन् । तल नदी किनारमा क्रसर उद्योगको मेसिन र ट्रिपरका आवाज परै सम्म सुन्न सकिन्छ ।
खण्डहर बस्ती माथी उभिएर एकोहोरो क्रसरका आवाज सुन्दै गर्दा जो कोहीलाई पनि कुनै नदी छेउको अनकन्टारमा आईपुगेको आभास हुन्छ ।
व्यापारिक चहलपहलमा चक्चकी मच्च्चाएर नाउँ कमाउदै कुनै बेला जिल्लै हल्लाएको तामाकोसी नदी किनारको यही खण्डहर जमिन आज मानिस हिडडुल नगर्ने एकलासे बाटो बनेको देख्दा नदी आसपासको प्रकृति समेत अचम्म मान्दो हो ।
हो, जिल्लाको ठुलो क्षेत्र ओगटेको उत्तरी भेगको प्रमुख व्यापारिक केन्द्र गुमुखोला बजारको यही जमिनमा ठडिएका घरहरु १५ बर्ष यता उठ्न सकेका छैनन् । तामाकोसी नदी किनारमा रहेको गुमुखोला बजार बारे थाहा नहुने ५० को दशक अघि जन्मिएको पुस्ता दोलखामा सायदै होला ।
उक्त दशक अघि जन्मिएका दोलखा उत्तरका जो कोही पनि यो बजारको चमक र चहलपहलको साक्षी छन् । दोलखा उत्तरका २२ गाउँको केन्द्र यो बजारलाई पञ्चायतकालमा कांग्रेस र एमालेले पञ्चायत बिरोधी आन्दोलनका निम्ती राम्रै उपभोग गरे । बहुदल भरी तिनै कांग्रेस, एमाले अनि राप्रपाले चुनावी आम सभा गर्ने थलो र बिद्रोही माओवादीले समेत पटक पटक आफ्नो गतिविधि गर्ने सेल्टर बनाए । सबै दलका नारा बजारका भग्नावशेषहरुमा अझै भेटिन्छन् ।
समयक्रम र परिस्थतीले कुनै समयको गुलजार गुमुखोला बजारलाई आज आफ्नो नाम निसान मेटिने गरी ‘कोमा’ मा पु¥याईदिएको छ ।
हुन त वि.सं २०२५ साल देखी जुर्मुराएको गुमुखोलाको ईतिहास ५० बर्ष भन्दा लामो छैन् । अहिलेको कालिञ्चोक गाउँपालिका ७ मा रहेको यो बजार बस्नुमा ठ्याक्कै पारीपट्टी गौरीशंकर १ जुँगुमा रहेको पिखुतीमा थालिएको हाटको प्रसंग जोडिन्छ ।
२०२२ साल तिर दोलखा उत्तरको सुरीदोभान आसपासमा पहिरो चल्यो । त्यहाँ व्यवसाय गरेर बसेका कायस्थ परिवारको पसल र घर बगायो । बनेपाका कायस्थहरु व्यवसायका सिलसिलामा दोलखाको सुरीदोभान, शेराबेसी सहित बिभिन्न भागमा पुगेका थिए । तिनै मध्येका थिए मानकाजी कायस्थ र डबलकाजी कायस्थ । मानकाजी दाजु र डबलकाजी भाई हुन् । पहिरोले पसल र घरबार बगाएपछि मानकाजी सुरी गाउँ उक्लिए । डबलकाजी दोबाटो खोज्दै सदरमुकाम तर्फ फर्कदै थिए । जुँगुको पिखुतीमा आउजाउ गर्नेहरुका लागी बास बस्न बनाईएको एउटा पाटी थियो । त्यतीखेर व्यवसायका लागी सबैको केन्द्र पर्ने दोबाटो रोज्ने चलन हुन्थ्यो । उनी त्यहीं बस्न थाले ।
उनी बसेको स्थान तितेपातीको घारी थियो । डबलकाजीले स्थानिय एक खडका परिवारको उक्त जग्गा खरिद गरेर घर बनाए । उनले त्यहाँ व्यवसाय शुरु गरेपछि मैते तामाङ, बखतबहादुर तामाङ र धनबहादुर तामाङले पनि पिखुतीमै घर बसाले ।
बनेपाबाट व्यापारको सिलसिलामा दाजुभाई सहित दोलखा छिरेका डबलकाजीले एउटा जुक्ती निकाले – ‘पिखुतीमा १० गते र २५ गते हाट लगाउने’ । उनको जुक्तीले काम ग¥यो । हाटमा चहलपहल यती बढ्दै गयो कि भिड थेग्नै गाह्रो प¥यो । ‘मानिसहरुको भिडले हाम्रो खेतबारी सबै मासिदिन थाल्यो’ ८३ बर्षिय डबलकाजीले भने – ‘तामाकोसी पारीपट्टी नदी किनारमा खुल्ला चउर थियो, त्यही चउरमा हाट बजार सार्ने निधो ग¥यौं’ ।
हाटबजार तामाकोसी पारी चउरमा सारिएपछि चहलपहल झनै बढ्दै गयो । १० र २५ गते हाट लाग्थ्यो । उत्तरका साविक २२ गाविसको केन्द्र भएका कारण भिड थेगिनसक्नुको हुन्थ्यो । हाट भर्न जिल्लाभरीबाट मानिस पुग्थे । हाट लाग्ने स्थानलाई हाट भर्न आउनेहरुले गुमुखोला बजार नामाकरण गरिदिए ।
हाट लाग्ने यही चउरमा सुनखानीका महानन्द पाठकले पहिलो घर बनाए । बजारको बिचमा रहेको पाठकको यो घर नै गुमुखोला बजारको पुरानो वैभवको साक्षी थियो । त्यसपछि यज्ञप्रसाद शिवाकोटीले अर्को घर ठड्याए । डबलकाजी आफैं पिखुतीबाट गुमुखोला तिर सरे । पहिरो पछि सुरीमा पुगेका उनका दाजु मानकाजीको परिवार समेत गुमुखोला झरेर घर बनायो र यतै व्यवसाय शुरु गर्न थाल्यो । धमाधम घरहरु बन्दै जान थाले ।
३५ बर्ष गुमुखोलाको स्वर्णकाल थियो । दोलखा सदरमुकाम चरिकोटबाट उत्तरले मात्र २२ गाविस (हालका ३ गाउँपालिका) ओगट्थ्यो । हो त्यही २२ गाविसको प्रमुख व्यापारिक केन्द्र थियो गुमुखोला । गुमुखोला उता कुनै पनि बजार थिएनन् । यहाँको हाटबजार निकै प्रख्यात थियो । एमाले जिल्ला नेता समेत रहेका डबलकाजीका जेठा छोरा रामकाजीका अनुसार हाटको भिड थेगिनक्नुहुन्थ्यो । ‘घरबाट बाख्रा बस्तु, अन्न, तरकारी सहित बहनीबुतो गरेर तयार पारेका सामग्री बेच्न उत्तरका सबै गाउँबाट मान्छे आउथे’ गुमुखोलाका पुराना दिन सम्झदै उनले भने – ‘राजनितिक दलका सभा सम्मेलन समेत यही हाटको दिनलाई लक्षित गरेर हुन्थ्यो’ । गुमुखोलाको ‘छ्याङ’ र माछा निकै लोकप्रिय हुन्थ्यो । २०३६, र २०४६ मा दोलखाका राजनितिक दलले यो गुमुखोलामा थुप्रै पटक आमसभा गरेका थिए ।
रामकाजीका अनुसार चहलपहल बढ्दै गएपछि गुमुखोलामा कृषि विकास बैंकको शाखा खुल्यो । लगतै नेपाल बैंक लिमिटेडले समेत आफ्नो शाखा गुमुखोलामा खुलायो । महिला विकास, घरेलु कार्यालय, पशु, कृषि, हुलाक जस्ता सरकारी अढ्डा खुले । स–साना उद्योग र कारखाना आए । घरहरु निर्माण हुँदै गए । झण्डै दुई सय बढी पसल र होटलहरु खुले । सदरमुकामबाट दोलखा बजार हुदै पुगिने तामाकोसीको किनारमा रहेको गुमुखोला उत्तरका सबैको व्यापारिक केन्द्र थियो । जिल्लाकै आर्थिक चहलपहल हुने प्रमुख थलो थियो । कायस्थका अनुसार भरियाको लस्कर हुन्थ्यो । पसलेहरुलाई सामन पठाउने र भरिया मार्फत ल्याएको सामन मिलाउने व्यस्ताले हात खाली हुदैनथ्यो । उत्तरका सबै नागरिकहरुको प्रमुख केन्द्र थियो ।
रोल्वालिङ उपत्यका जाने विदेशी पर्यटकहरुको लर्को हुन्थ्यो । यो बाहेक लामावगर र विगुको छोटी भन्सार मार्फत भित्रिने सामानहरु ओसारपसार गर्ने प्रमुख थलो समेत यही बजार हुन्थ्यो ।
गुमुखोला यसरी चम्कीदा यहाँबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको सिंगटी बजार अस्तित्वमै थिएन ।
…
देशमा माओवादीले सशस्त्र युद्धको घोषणा गरे । युद्धको राप बिस्तारै बढ्दै थियो । गुमुखोलाबाट सरकारले बैंक उठाउने निर्णय ग¥यो । सरकारी अड्डाहरु पनि उठेर गए ।
सामान बेचेर हात खाली नभएका गुमुखोला बजारका बासिन्दाले समय काल र परिस्थीतीको भेउ सम्म पाएनन् । तत्कालिन विद्रोही माओवादीले स्थानिय व्यापारीहरुलाई ठुलो रकम चन्दा माग गर्दै दुख दिन थाल्यो । पुराना खाले व्यवसायीले बिस्तार गुमुखोला छाड्दै गए । कोही दोलखा बजार, सदरमुकाम त कोही राजधानी पलायन हुदै गए ।
गुमुखोला बजारले पहिलो झट्का खायो ।
तत्कालिन जिल्ला विकास समितिले दोलखा उत्तरलाई सदरमुकाम संग जोड्न सडक ट्रयाक खुलाउने निधो ग¥यो । त्यती खेर सदरमुकाम चरिकोटबाट ४ किलोमिटरको दुरीमा रहेको दोलखा बजार सम्म मात्र सडकमार्ग थियो । दोलखा बजारबाट हिडेर गुमुखोला बजार हुँदै दोलखा उत्तरका २२ गाविस ओहोरदोहोर गर्नुपथ्र्यो ।
जिल्ला विकास समितिले विश्व खाद्य कार्यक्रम मार्फत २०६० सालमा सिंगटी सम्म ट्रयाक खुलायो । यो सडक गुमुखोला बजार भन्दा माथिल्लो भेग हुदै सिंगटी पुगेको थियो ।
गुमुखोला बजारको उधोगतिका लागी दोश्रो झट्का थियो त्यो ।
सिंगटी सम्म ट्रयाक खुलेपछि बजारका प्राय स्थानिय बिस्तारै सिंगटी सर्न थाले । यस अघि अस्तित्वमै नरहेको सिंगटीमा बिस्ताररै घरहरु बन्न थाले । केही व्यवसायी माथि बञ्चरे सर्न थाले । शुरुमा बजार बसाल्ने मध्येका डबलकाजी दोलखा–सिंगटी सडक खण्ड छेउको बञ्चरे बजारमा सरे भने उनका दाजु मानकाजी राजधानी गए । महानन्द पाठक सदरमुकाम सरे । अन्य समेत सदरमुकाम चरिकोट र राजधानी हान्निए । उत्तर जोड्न खनिएको सडकमा बाह्रै मास गाडी नचलेका कारण केही भने गुमखोलामै बसे ।
२०६२÷६३ पछि मुलुकमा व्यबस्था फेरियो । राजतन्त्र ढल्यो, गणतन्त्र आयो ।
यो नयाँ व्यवस्था आफ्ना लागी कति हानीकारक हुन्छ भन्ने बिचरो गुमुखोलाले भेउ नै पाएन । मानवनिर्मित विकास संगै परिस्थिती यसरी बदलियो कि त्यसलाई रोक्न सक्ने तागत गुमुखोला संग थिएन ।
उत्तरी भेगमा राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी बन्ने भयो । आयोजना आफैंले ग्राभेल गरेर सडक सररर गाडी गुड्न सक्ने बनायो । मानव निर्मित विकास संगै गुमुखोलाको अस्तित्व मेटिदै गयो ।
कुनै बेलाको चर्चित गुमुखोला बजारमा अहिले रामकाजी श्रेष्ठको परिवार बाहेक कोही बस्दैनन् । माया मारेर बसाई सर्न नसकेका श्रेष्ठ एक्लै यहाँ बस्छन् ।
बजारको छेवैमा क्रसर उद्योग खुलेको छ । १ सय मिटर परबाट तामाकोसी नदीमा जुँगु तर्फ तर्ने आर्क पुल बनेको छ । कुनै बेलाको मुकाम लाई फेरिने जगाउने गरी तयारी गर्ने सोचमा गाउँपालिका रहेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले सुनाईन् । ‘माछाको हव बनाउन सकिने गरी वरिपरीका सडक यो बजार क्षेत्रमा जोड्न सकिन्छ की भनेर लागिपरेका छौं’ उनले भनिन ।
सेउली बजार मार्फत झारिएको सडकलाई गुमुखोला हुँदै जुगुँ जाने पुल सम्म जोड्न सके कोमामा रहेको यो बजारलाई फेरी जगाउने सकिने आशामा कतिपय स्थानिय छन् ।


















Leave a Reply