दोलखामा माधव नेपाल पक्षको शक्ती कति ?

- bolichali
१८ श्रावण २०७८, सोमबार
मुलुकको पहिलो ठुलो दल एमाले यतिखेर संक्रमणकालमा छ । पार्टी फुट्छ कि जुट्छ भनेर एमालेजन व्यग्र प्रतिक्षामा छन् ।
माओवादी संग पार्टी एकता पछि नेकपाको तर्फबाट दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीलाई पार्टी भित्रको विवादले नेकपा भंग गरेर माओवादी र एमाले पूर्ववत अवस्थामा मात्र फर्काईदिएन एमाले भित्र माधव पक्षको बिद्रोहले सत्ताच्युत नै गरिदिएपछि एमालेको विवाद छतातुल्ल अवस्थामा पुगेको छ ।
संस्थापनसँग वार कि पारको टसलमा रहेको माधव नेपाल पक्षले केन्द्र देखी जिल्ला सम्मै समानान्तर शक्तीको अभ्यास र संगठन निर्माण गरिरहेको छ । देशैभरि आफ्नो शक्ति देखाउने प्रयास गरिरहेको बेला पार्टीको राम्रो पकड मध्येको दोलखा जिल्लामा एमाले भित्र माधव नेपाल समुहको शक्ति कस्तो छ भनेर खोजी हुन थालेको छ ।
दोलखाका ९ मध्ये ७ ओटा स्थानीय तह जितेको एमालेमा ७ ओटै गाउँपालिका प्रमुख र ६ उपप्रमुख संस्थापन केपी ओली पक्ष तिर छन् । प्रत्यक्ष र एक समानुपातिक गरी दुवै संघीय सांसद र पार्टीका दुई मध्ये एक प्रदेश सभा सांसद ओली खेमामा छन् ।
आधा बढी वडाध्यक्षहरु ओली खेमामा खुलेपनि कतिपय तटष्थ छन् । जनप्रतिनिधि ओली खेमातिर खुलेका कारण अगुवा कार्यकर्ता कता छन भनेर चासो हुने गरेको छ ।
पार्टी भित्रको विवादकै कारण दोलखामा एमालेको संगठन कमजोर बन्दै गएको आँकलन कतिपय अगुवा कार्यकर्ताले गर्न थालेका छन् । पार्टी विवादकै कारण पकड रहेका संघ संस्था गुमाउन शुरु भएको चर्चा कार्यकर्ताहरुमा पत्रकार महासंघको निर्वाचन हारे देखी प्रारम्भ हुन थालेको छ । २२ बर्ष देखी एक छत्र राज गर्दै आएको पत्रकार महासंघ दोलखा शाखामा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले गत चैतमा निर्वाचन हारेको थियो । तत्कालिन सञ्चारमन्त्री पार्वत गुरुङको गृह जिल्ला समेत रहेकाले यो निर्वाचनलाई पार्टीले प्रतिष्ठाको बिषय बनाएको थियो । महासंघमा एमाले निकट प्रेस चौतारीको बहुमत रहँदा रहँदै पनि ओली पक्ष छाडेर माधव पक्ष कांग्रेस निकट प्रे्स युनियन नेतृत्वको माओवादी केन्द्र सम्वद्ध प्रेस सेन्टर समेतको प्यानलबाट निर्वाचन लडेर विजयी भएको थियो । माधव नेपाल पक्षबाट उपाध्यक्ष, कोषाध्यक्ष सहित कार्य समिति विजयी भएका थिए ।
एमालेमा ओली र माधव पक्ष बिचको लडाई लम्बीदै गए जिल्लामा अन्य संघसंस्थाको निर्वाचनमा समेत उही परिणाम भोग्नुपर्ने चेतावनी कार्यकर्ताहरुले दिने गरेका छन् ।
केही दिन अघि ओली पक्षले एकलौटी बैठक गरेपछि नेपाल पक्षका पदाधिकारीहरुले वक्तव्य नै निकालेर बिरोध गरेका थिए । उक्त वक्तव्य पछि माधव निकट सबै पदाधिकारीहरुको नाम सार्वजनिक भएको थियो । यस अघि माधव निकट समुहले भिम दाहालको अध्यक्ष्यतामा दोलखामा जिल्ला कमिटी घोषणा गरेपनि उपसचिवको नाम सार्वजनिक भएको थिएन् । अध्यक्ष दाहाल सहित उपाध्यक्ष भुवन केसी, सचिव प्रोणप्रताप केसी र उपसचिव घनश्याम रिजालको नाम वक्तव्यमा सार्वजनिक भएको थियो ।
माधव समुहमा रहेका अग्रज नेता, प्रदेश सांसद पशुपति चौलागाईको कोरोनाका कारण निधन भएपछि दोलखामा माधव समुहको बिरासत शिव प्रसाद भण्डारीले थाम्दै आएका छन् । उनै भण्डारीको नेतृत्वमा जिल्लामा माधव समुहले सांगठनिक गतिविधि बढाईरहेको छ ।
माधव समुहका सचिव प्रोण प्रताप केसीको दाबी अनुसार उक्त समुहको २ सय १ सदस्यिय जिल्ला कमिटी गठन भईसकेको छ । ‘आन्तरिक रुपमा बनाईसकेका छौं’ उनले भने – ‘केन्द्रको निर्णय पर्खेर बसेका छौं, छिट्टै घोषणा गर्छौ’ ।
केसी आफूहरुले ५ सय १ जनाको जिल्ला प्रतिनिधि परिषद समेत गठन गरिसकेको दाबी गर्छन् । बोलीचाली डट कमले प्रकाशन नगर्ने गरी दुवै कमिटीका नाम माग्न खोज्दा उनले अहिले तत्काल दिन नसकिने भन्दै ईन्कार गरे । ‘केही केही थोरै आन्तरिक तयारी बाँकी रहेकाले तुरुन्तै दिन सकिदैन’ उनले भने – ‘तपाईहरुलाई छिट्टै नै घोषणा गरेर सार्वजनिक नै गर्छौ, त्यो दिन टाढा छैन’ । माधव समुहले दोलखामा केशब कार्कीको अध्यक्ष्यतामा युवा संघ र पुष्पक केसीको अध्यक्ष्यतामा अनेरास्ववियु जिल्ला कमिटी गठन गरिसकेको छ ।
माधव समुहका उपसचिव घनश्याम रिजाल समेत सबै कमिटीहरु निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै सार्वजनिक गरिने सुनाउछन् । ‘केन्द्रको निर्णयको पर्खाईमा बसेका छौं, आवश्यकता परे तल सम्मै कमिटी निर्माण गर्ने गरी तयारी हालतमा छौं’ उनले भने ।
दोलखामा माधव समुहका शिर्ष अनुहार
शिव भण्डारी
नेकपा एमाले दोलखामा दुई पटकसम्म पार्टीको कमाण्ड (सचिव) सम्हालेका शिव भण्डारी दोलखाका पुराना मध्येका नेता हुन् । त्यागी नेताका रुपमा परिचित उनले पार्टी नेतृत्व छाडे लगत्तै नेतृत्वमा पुगेका पार्वत गुरुङको उदय सँगै पछि परेको लख कार्यकर्ताहरुले काट्ने गरेका छन् । बिचारको राजनितिमा विश्वास गर्ने भण्डारी दोलखा एमालेमा अरु भन्दा पृथक छन् ।
भीम दाहाल
मैनापोखरीका दाहाल दोलखाको कम्युनिष्ट आन्न्दोलनका संस्थापक मध्येका नेता हुन् । हाल उनी माधव समुहको जिल्ला अध्यक्ष छन् । यस अघि एमाले र माओवादी बिच एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा उनी दुई पटक सम्म जिल्लाबाट सर्वसम्मत अध्यक्षमा सिफारिस भएपनि केन्द्रमा भागबण्डाका कारण पछि परेका थिए । शिक्षक पृष्ठभुमीका उनी जिल्लाभर परिचित छन् ।
भुवन केसी
भीमेश्वर नगरपालिकाको बोचका भुवन केसी हक्की स्वभावका कसैसंग नझुक्ने परिचय बनाएका र हाल सम्म कुनै पनि अवसर नपाएका नेता हुन् । उनी नगर क्षेत्रमा प्रभाव राख्छन् । हाल उनी माधव समुहको जिल्ला कमिटी उपाध्यक्ष छन् । केसी यस अघि नेकपा एमालेको २ नं क्षेत्रीय कमिटीका अध्यक्ष थिए ।
प्रोण प्रताप केसी
कानुन व्यवसायी पृष्ठभुमीका केसी यो समुहको जिल्ला कमिटीका सचिव हुन् । शहरेका केसी यस अघि नेकपा एमालेको जिल्ला उपसचिव थिए । वकालत पेशामा सक्रिय रहेका उनले यो पेशा मार्फत जिल्लाभरका धेरै कार्यकर्ता सँग सम्बन्ध बनाएका कारण राजनितिमा समेत उक्त सम्बन्धलाई उपयोग गर्ने गरेका छन् । कुनै समय नेता शिव भण्डारी भन्दा फरक खेमामा रहेर भण्डारी विरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका केसी र भण्डारी अहिले एउटै समुहमा छन् ।
घनश्याम रिजाल
चरिकोटका घनश्याम रिजाल यो समुहको पार्टी उपसचिव हुन् । व्यवसायमा समेत संलग्न उनी भीमेश्वर नगरपालिका र २ नं क्षेत्रका दलित समुदायमा प्रभाव राख्छन् । माधव नेपाल समुह भित्र जिल्लामा आर्थिक रुपमा सम्पन्न र पकड र।ाख्ने मध्येमा उनी अग्र स्थानमा गनिने चर्चा कार्यकर्ताहरु भित्र छ । उनलाई नेता शिव भण्डारीको अत्याधिक राजनितिक भरथेग छ ।
भुवन सिंह थापा
मागापौवाका थापा नेकपा एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष थिए । शिक्षण पृष्ठभुमीका उनी दोलखा एमालेको राजनितिका अग्रज मध्येमा गनिन्छन् । शैलुङ गाउँपालिकामा उनको सामान्य प्रभाव रहेको कार्यकर्ता बताउछन् ।
गोपाल न्यौपाने
मेलुङका गोपाल न्यौपाने पुराना र अग्रज नेता हुन् । उनी नेकपा एमालेको जिल्ला कमिटिमा लामो समय देखी सक्रिय छन् । उनलाई माधव नेपाल समुहको केन्द्रिय सदस्य बनाउने तयारी नेताहरुको छ । भुमि आयोगको अध्यक्ष्यमा प्रत्यासी रहेका उनलाई उक्त राजनितिक नियुक्तीको दौडबाट गलहत्याएर तत्कालिन सञ्चारमन्त्री गुरुङले धर्मेन्द्र मोक्तानलाई अध्यक्ष बनाएका थिए ।
बाबुकाजी कार्की
नेपाल समुहका पुराना मध्येका नेता कार्की झुले गाउँका हुन् । तत्कालिन प्ररायु संघ (हालको युवा संघ) मा जिल्ला अध्यक्ष बनेर नेतृत्व हरेका कार्की हकी स्वभावका छन् । पार्टी भित्रको विकृती विसंगतीमा शुरु देखी नै औला उठाएका कारण उनी आन्तरिक पार्टी भित्र धेरैको तारो बन्ने गर्थे ।
कुमार खड्का
उत्तरी भेगको लादुकका खड्का लामो समय देखी सक्रिय छन् । उनी विगु गाउँपालिकामा राम्रो पकड राख्छन् । पूर्व जिविस सभापति लालकुमार केसीका भाञ्जा रहेका खड्काले लालकुमार ओली पक्ष तिर खुलेमा खड्काले ‘ब्यालेन्स’ गर्ने र त्यसको क्षतीपुर्ती भराउने आंकलन नेपाल पक्षको छ । वागमतीका मुख्यमन्त्री रहेका डोरमणी पौडेलको कृषि विज्ञ रहेका लालकुमार हाल सम्म ओली पक्षमा रहेपनि सार्वजनिक रुपमा खुलिसकेका छैनन् ।
रचना खड्का
भीमेश्वर नगरपालिका ५ की खड्का बागमती प्रदेश सभाकी सांसद हुन् । गौरीशंकर बहुमुखी क्याम्पसमा अखिलको राजनितिबाट उदाएकी खड्का अखिलको महासचिवमा प्रतिष्पर्धा गरी हारेकी थिईन् । जिल्लामा जनाधार र तल सम्मै सम्पर्क कमजोर रहेको आरोप लाग्ने गरेकी रचनाले यस बर्ष वागमती प्रदेश सरकारबाट जिल्लामा कार्यक्रम तथा योजना राम्रो पारेर कार्यकर्ताको मन जित्ने प्रयास गरेको चर्चा हुन थालेको छ ।
स्थानिय तहमा खुलेका अनुहारहरु
मेलुङ गाउँपालिकाका पुराना नेता रविन्द्र कार्की माधव समुहको प्रदेश कमिटि सदस्य छन् । माओवादी केन्द्रको पृष्ठभुमी हुँदै एमालेमा मिसिएका कार्की मेलुङमा राम्रै पकड राख्छन् । यस्तै सम्पर्क मञ्चमा सक्रिय विकल श्रेष्ठ, मजदुर फाँटमा क्रियाशिल रामकृष्ण भण्डारी, सचिवालय सदस्य प्रेम लामा लगायत मेलुङ गाउँपालिकामा माधव नेपाल समुहमा खुलेृका थुप्रै कार्यकर्ता रहेको दाबी नेपाल पक्षको छ ।
तामाकोसी गाउँपालिकामा सचिव केसी संगै देवी शर्मा, सचिवालय सदस्य, भिरकोटका बसन्त थापा जिल्ला कमिटी सदस्य, शहरेका अमर बहादुर खड्का जिल्ला कमिटी सदस्य, जफेका पर्शुराम कार्की जिल्ला कमिटी सदस्य, भिरकोटका उषा थापा युवा संघ सचिव लगायत खुलेका नेता कार्यकर्ता छन् ।
यस्तै वैत्येश्वर मा अध्यक्ष भीम दाहाल सहित ७ नं वडाध्यक्ष एवं अखिलका पूर्व जिल्ला अध्यक्ष रेशम राजस्वराज रिमाल, क्षेत्रपाका राम बहादुर श्रेष्ठ, मिर्गेका महेश पाख्रिन लगायत खुलेका नेताहरु नेपाल समुहमा सक्रिय छन् ।
जिरी नगरपालिकामा ८ नं वडाका अध्यक्ष तेजबहादुर खड्का, टिकाराम खड्का, दोर्जी शेर्पा लगायत खुलेका नेता तथा अगुवा कार्यकर्ता नेपाल समुहमा छन् ।
गौरीशंकर गाउँपालिकामा भने नेपाल समुह कमजोर देखिन्छ । गौरीशंकरकै रहेका सांसद पार्वत गुरुङका तत्कालिन स्वकिय सचिव नन्दराज घतानी नेपाल समुहमा खुलेका छन् । उनी नेपाल समुहको मुक्ती समाजको केन्द्रिय सचिव छन् । यस्तै गौरीशंकरबाट झलक कार्की नेपाल समुहमा सक्रिय छन् ।
विगुमा कुमार खड्का सहित तत्कालिन जिल्ला विकास समितिका सभापति लालकुमार केसीका छोरा प्रकाश केसी नेपाल पक्षमा खुलेका छन् । यहाँ समेत नेपाल समुहको उपस्थिती कमजोर देखिन्छ ।
कालिञ्चोकमा बाबरेका पूर्ण पाण्डे, लामिडाँडाका घनश्याम पाठक, हिमाल बस्नेत, सुनखानीका डम्बर आचार्य, सुन्द्रावतीका अशोक दाहाल यो समुहमा खुलेर लागेका मध्येमा पर्छन् ।
भीमेश्वर नगरपालिकामा धेरै जसो अनुहार खुलेका छन् । १ नं वडामा दिनेशराज शिवाकोटी सहित ३ का कार्यपालिका सदस्य दिपक धनुके, ५ का प्रदेश सभा सांसद रचना खड्का, जिल्ला नेता एवं गौरीशंकर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति अमृत राउत खुलेका छन् । राउत राजधानीमा रहेका दोलखाली युवाहरु माझ राम्रो पकड राख्छन् । यस्तै ६ का रामप्रसाद न्यौपाने, कुबेरबहादुर थापा, यो समुहका जिल्ला कमिटि उपसचिव घनश्याम रिजाल, पूर्णिमा खरेल लगायत यो समुहमा खुलेका मध्येमा पर्छन् । बोचमा उपाध्यक्ष भुवन केसी , अखिलमा लामो समय काम गरेकी संगिता पाख्रिन, ध्रुब विश्वकर्मा लगायतका नेता नेपाल समुह तिर छन् ।
शैलुङमा भुवन सिंह थापा र कुलबहादुर विश्वकर्मा लगायत रहेपनि यहाँ समेत यो समुहको उपस्थिती कमजोर देखिन्छ । शैलुङका गुणबहादुर बुढाथोकी तटस्थ छन् । कित्ताकाट गरेर माधव नेपाल छुटिदा दोलखामा संस्थापन पक्षलाई असाध्यै चुनौती हुने बिश्लेषण कार्यकर्ता भित्र हुन थालेको छ ।
‘संगठित सदस्यता नविकरण गर्दैछौं, त्यस पछि मात्र उहाँहरुको पोजिसन के भन्ने कुरा थाहा दिन्छौं’
दोलखा एमालेको संस्थापन ओली पक्षले बाहिर हल्ला पिटे जस्तो कार्यकर्ताले आफुहरुले नेतृत्व गरेको मुल एमाले नछाडेको दाबी गरेको छ ।
केही दिन अघि जिल्ला कमिटि बैठक राखेर उसले संगठित सदस्यता नविकरणको अभियानलाई तिव्र पार्ने निर्णय गर्दै कार्यकर्ता माझ पुग्ने निर्णय गरेको छ ।
‘हो हामी स्विकार गर्छौ, हाम्रो पार्टी संगठन यो बिचमा उहाँहरुकै कारण मरेतुल्य बन्न पुग्यो, अब त्यसलाई जगाउछौं, जिल्ला भर संगठित सदस्यता नविकरण गर्छौ’ संस्थापन ओली पक्षका एमाले जिल्ला सचिव नरबहादुर श्रेष्ठले भने – ‘१२ सय संगठित सदस्य नविकरण गरेर हेरेपछि थाहा हुनेछ कार्यकर्ताले के चाहेका रहेछन, कार्यकर्ता कता रहेछन’ ।
उनले माधव नेपाल पक्षले पार्टी सिध्याएकाले देशभक्त र पार्टीका ईमान्दार कार्यकर्ता उक्त समुह तिर नहुने संकेत गरे । ‘ईगो साँध्ने गरी लागेर केही हुन्न, हामी मुल एमाले हौं, ईमान्दार कार्यकर्ता मुल एमाले तिर छन कि छैनन, संगठित सदस्यता नविकरण गरेपछि छिट्टै थाहा हुनेछ’ उनले भने ।


















Leave a Reply